जैमिनीमा दुध दिवसको अवसरमा कृषकहरुलाई औषधि वितरण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १८ जेठ २०७९ ।

जैमिनीमा विश्व दुध दिवस मनाइएको छ । बुधबार जैमिनी नगरपालिकाका पशु पालक कृषकहरुलाई गाईभैँसीका लागि आवश्यक पर्ने औषधि वितरण गरेर यो दिवस मनाइएको हो ।

जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन, उप- प्रमुख हरिहर शर्मा सहित कृषि तथा पशु शाखाका कर्मचारीहरुको टोलीले कुश्मिसेरामा रहेको हमाल कृषि तथा पशुपंक्षी फार्ममा गएर औषधि वितरणका साथै फार्मको अवलोकन गरेको जैमिनी नगरपालिकाका पशु सेवा शाखा प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो । जैमिनी अब दुधमा आत्मनिर्भर भएको भन्दै उहाँले दुध निर्यातका लागि बिभिन्न दुध डेरीहरुसँग समन्वय भैरहेको बताउनुभयो ।

“दिर्घ जिवन, दुध तथा दुग्ध पदार्थको सेवन” भन्ने नारा सहित विशवभर मनाइने यो दिवसले दुधको महत्व झन् बढाएकाले जैमिनीलाई कृषि पशु र पर्यटनलाई बढाएर लैजाने योजना रहेको नगर प्रमुख पुनले बताउनुभयो । कृषकहरुलाई आवश्यक सहयोग सरकारले गर्ने र कृषकहरुले उपभोक्ताहरुलाई सहज रुपमा आपुर्ती गर्ने व्यवस्था मिलाउने गरी योजना ल्याउने भन्दै उहाँले अनुदानमुखी नभएर व्यवसायमुखी हुने कृषकहरुलाई जैमिनीले सँधैव सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उप-प्रमुख हरिहर शर्माले जैमिनीलाई आयातको थलो मात्रै नभै निर्यातको श्रोत बनाउनेगरी काम गर्नुपर्ने भन्दै कृषकहरुको आवश्यकता र समस्यालाई मध्येनजर गर्दै कार्यक्रम बनाउने बताउनुभयो । उत्पादित वस्तुहरुको बजारिकरणको समेत समस्या रहेका भन्दै उहाँले जैमिनीमा आर्थिक उपार्जनको प्रमुख श्रोत कृषि भएकाले यसलाई समाधानको बाटो खोजिने बताउनुभयो ।

फार्म सञ्चालक गोविन्द हमाल तथा खगी हमालले सरकारले काम गर्ने भन्दा पनि कागज मिलाउनेलाई अनुदान दिने गरेको उदाहरणहरु प्रशस्तै भएको भन्दै त्यस्ता कुराहरुमा राज्यले विचार गर्नुपर्ने बताउनुभयो । अनुदानमा आएका कतिपय सामग्रीहरु गुणस्तरहीन हुने तथा प्रयोग गर्न समेत नमिल्ने हुने गरेको भन्दै हमाल दम्पतीले अनुदान दिएजस्तो मात्रै भन्दापनि आवश्यकता पुरा हुनेगरी सहयोग गर्न आग्रह गर्नुभयो । कतिपय योजना सामुहिकमा मात्रै दिइने तर व्यक्तिले गरेको फार्मलाई प्राथमिकता नदिएकोमा उहाँहरुले असन्तुष्ट व्यक्त गर्नुभएको छ । व्यक्तिले केहि गर्छु भन्छ भने उसलाई पनि सरकारले हेर्नुपर्ने कृषकहरुको धारणा छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार