जैमिनी नगरपालिकामा डेढ करोड भन्दा बढी बेरुजु, पुँजीगत खर्च २७ प्रतिशत मात्र

याे सामग्री सेअर गर्नुहाेस्

 

सुजन प्रेमी
बागलुङ, ६ भदौ २०७८ ।

बागलुङको जैमिनी नगरपालिकामा डेढ करोड भन्दा बढी बेरुजु देखिएको छ । आर्थिक बर्ष २०७६÷७७ को लेखापरिक्षण गर्दा जैमिनी नगरपालिकामा १ करोड ५६ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

१ अर्ब ३७ करोड २८ लाख ४४ हजार रुपैयाँ लेखा परीक्षण गरिएको रकमको १.१४ प्रतिशत बेरुजु देखिएको महालेखा परिक्षकको कार्यलयले जारी गरेको ५८ औँ बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार ६८ लाख ४८ हजार ८ सय रुपैयाँ मौज्दात रहेको छ । जैमिनीमा आर्थिक बर्ष २०७६/७७ मा चालु तर्फ ३३ करोड ९६ लाख १७ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगत तर्फ १८ करोड ३९ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै जैमिनीमा सोहि आर्थिक बर्षमा नै १५ करोड ६७ लाख १८ हजार रुपैयाँ अन्य खर्च देखिएको छ । यो विवरणलाई हेर्दा नगरपालिकामा आर्थिक बर्ष २०७६/७७ मा जम्मा ६८ करोड २ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । जैमिनीमा खर्च भएकामध्ये २७ प्रतिशत मात्रै पुँजीगत खर्च भएको देखिएको छ ।

आर्थिक बर्ष २०७६/७७ मा जैमिनीको जम्मा आम्दानी ६८ करोड २५ लाख ६४ हजार रहेको छ जसमा आर्थिक बर्ष २०७५/७६ बाट सरआएको दायित्व समेत जोडिएको छ ।

बेरुजु देखिनुमा योजना भन्दा फरक शिर्षकमा भुक्तानी हुने वा आवश्यक कागजात नमिल्नु मुख्य कारण रहने गरेको महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक महेश्वर काफ्लेले बताउनुभयो । जिल्लाखबर डटकमसँगको कुराकानीमा उहाँले भन्नुभयो, “बेरुजु भन्ने बित्तिकै त्यसलाई भ्रष्टाचारको रुपमा बुझ्नु हुँदैन, विशेषगरी बेरुजु भनेको कानुन सम्बत खोजिएका कागजातहरु नहुनु वा विवरण फरक पर्नु हो, यसले पनि बेरुजु देखाउँछ ।”

अहिले अधिकांश स्थानीय तहमा बेरुजु बढ्नुको मख्य कारण पेश्की फर्छौट नहुनु, आवश्यक कागजात नदेखिनु रहेको उहाँको भनाई छ ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार