निषेधाज्ञाकाे दुई साताः बिज्ञ भन्छन काठमाडाैँमा संक्रमण घट्न अझै एक महिना लाग्न सक्छ !

काठमाडौँ, २९ बैशाख २०७८ ।

कोरोना महामारीको साङ्लो तोड्न भनेर निषेधाज्ञा जारी गरिएको दुई साता भइसक्दा पनि उपत्यकामा सङ्क्रमितको सङ्ख्यामा कमी आउन सकेकाे छैन ।

उपत्यकामा सङ्क्रमण दर नघट्दा र यहाँबाट देशभर अझै पनि आवतजावत भइरहँदा समग्रमा देशभर पनि सङ्क्रमण  घट्न सकेको छैन । जनस्वास्थ्यविद्हरूले स्वास्थ्य मापदण्ड पालनामा कडाइ नभएको बताउँदै आएका छन् । सङ्क्रमण अत्यधिक बढेको भारतसँग बाक्लाे रूपमै आवतजावत भइरहेका कारण उपत्यकाको सङ्क्रमण नियन्त्रण हुन अझै केही समय लाग्ने उनीहरूको निष्कर्ष छ । सङ्क्रमितको सङ्ख्या नघटेपछि फेरि दुई साताका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ । आउँदो निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णयसमेत भएको छ ।

काठमाडौँ उपत्यकामा बैशाख ९ गते बिहीबार नयाँ सङ्क्रमित एक हजार १७४ फेला परेकामा बैशाख १५ गते बुधबार दुई हजार ४७ जना थपिएका थिए । बैशाख १६ गते बिहीबार एक साताका लागि निषेधाज्ञा जारी भयो । त्यो दिन एक हजार ५६१ जना नयाँ सङ्क्रमित फेला परेका थिए भने बैशाख २२ गते बुधबार तीन हजार ८२५ जना थपिए । दैनिक थपिने सङ्क्रमितको सङ्ख्या उपत्यकामा बैशाख २८ गते बुधबार तीन हजार ९२७ जना पुग्यो । बैशाख २६ गते आइतबार अहिलेसम्मकै सबभन्दा बढी चार हजार १९८ जना नयाँ सङ्क्रमित फेला परेका थिए । निषेधाज्ञा भएको दुई साता भएको छ, तर दैनिक थपिने सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन ।  निषेधाज्ञा जारी भएको दिन बैशाख १६ देखि २८ गते मङ्गलबारको अवधिमा दैनिक फेला पर्ने सङ्क्रमितको सङ्ख्या डेढ गुणाले बढेको छ । मङ्गलबार मुलुकभर नौ हजार ४८३ जना सङ्क्रमित थपिएकामध्ये तीन हजार ९२७ जना अर्थात् ४१ प्रतिशत काठमाडौँ उपत्यकाका छन् । उपत्यकामा अहिले ४० हजार २२२ सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक सातामा झन्डै एक चौथाइले सक्रिय सङ्क्रमित बढेका हुन् ।

 

समस्या चेन ब्रेकको
वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले उपत्यकामा सङ्क्रमितको सङ्ख्या घट्न अझै एक महिना लाग्ने बताउनुभयो । उहाँले नागरिकले स्वास्थ्य मापदण्ड पालनामा गम्भीरता नदेखाएको र पर्याप्त आइसोलेसनको व्यवस्था नहुँदा सङ्क्रमित एउटै परिवारसँग बसेकाले सङ्क्रमण फैलिरहेको बताउनुभयो ।
डा. पाण्डेले अहिले पनि भारतसँग आवतजावत भइरहेका कारण भारतमा सङ्क्रमण नघटेसम्म नेपालमा घट्न नसक्ने दाबी गर्नुभयो । “कोरोना नभएको देशमा हवाई उडान बन्द गरिएको छ तर भारतबाट हवाई र गाडीबाट पनि मानिस सहजै आइरहेका छन्”, पाण्डेले भन्नुभयो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बाहिरी ‘चेन’भन्दा भित्री ‘चेन’ तोड्न कठिन भएको बताउनुभयो । उहाँले भित्री ‘चेन ब्रेक’ गर्न समस्या भएकाले अझै केही समय काठमाडौँ उपत्यकाको सङ्क्रमण नियन्त्रणमा नआउने बताउनुभयो ।

 

मृत्युदर उच्च
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २२५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार ८४ पुगेको छ । सोमबार कोरोना सङ्क्रमणबाट १३९ जना सङ्क्रमितको मृत्यु भएको थियो । मङ्गलबार देशभर थप नौ हजार ४८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २१ हजार ३१६ जनाको पीसीआर र एन्टिजेन विधिबाट नमुना परीक्षण भएको थियो । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख १३ हजार १११ पुगेको छ ।  मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप पाँच हजार २२५ जना सङ्क्रमित निको भएका छन् । योसहित निको हुनेको सङ्ख्या तीन लाख १२ हजार १९ पुगेको छ । निको हुनेको सङ्ख्या पनि हालसम्मकै धेरै हो । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ हजार आठ रहेको छ भने क्वारेन्टाइनमा ४४८ जना छन् ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्