जैमिनीको पैञ्युँथन्थापमा वडा कार्यलय सहित १० घर फोरियो, चोरको विगविगीले स्थानीय त्रसित

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २६ चैत २०७८ ।

बागलुङको पैञ्युँथन्थापमा १० घर फोरिएको छ । जैमिनी नगरपालिका वडा नं ९ को वडा कार्यलय र पैञ्युँथन्थाप स्वास्थ्य चौकी सहित स्थानीयहरुको घर र पसल फोरिएको हो ।

शुक्रबार राति स्थानीयहरुको घर र पसल फोरेर सुनका गर गहना र नगद चोरी भएको स्थान्ीय मनोज शर्माले जानकारी दिनुभयो । पैञ्युँको लाम्सुमा मात्रै ७ घर फोरिएको छ भने विजुवामा पनि ३ घर फोरिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यसअघि बिहिबार राति जैमिनी नगरपालिकाकै वडा नं १ कुश्मिसेरामा एकै रातमा ११ ठाउँमा चोरी भएको थियो ।

तल्लो बजारको सिवाईसी बचत तथा ऋण सहकारी संस्था सहित तल्लो बजारको बलेवा होटल, शान्ति माध्यामिक विद्यालय छेउको पुस्तक पसल, हिमालयन आवाशीय माध्यामिक विद्यालय र उपल्लो बजारको नैनसिंहको घर, बविन टेलर्स, अनिल सापकोटाको फेन्सी पसल र शान्ति मेडिकल हलमा चोरी भएको प्रहरीले जनाएको छ । यस्तै जैमिनी नगरपालिका वडा नं १ टार स्थित पल्लोपाखा सामुदायिक माध्यामिक विद्यालय, प्रजानाथ र अर्को एक घरमा समेत तोडफोड भएको छ । सिवाईसी सहकारीको च्यानल गेटमा लगाइएको ताला फोडेर भित्र पसेपछि अर्को कोठाको मानिसले थाहा पाएर हल्लाखल्ला गरेपछि चोर भागेको थियो । पुस्तक पसलको पैसा राख्ने बाकस नै झिकेर स्कुल पछाडि फालेको पाइएको छ । यस्तै हिमालयन आवाशीय मा.वि. को पैसा र लेखापालले राखेको पाँचतोला सुन चोरी भएको प्रहरीले जनाएको छ । सबै पसलबाट नगद नै चोरी भएको र पल्लोपाखा स्कुलको नगद सहित एउटा प्रोजेक्टर समेत चोरी भएको छ । राति करिव १२ बजेदेखि ३ बजे भित्र चोरी भएको देखिएको स्थानीयहरुले बताएका छन् । बलेवा होटलको माथिल्लो तलामा रहेको सुटकेस ल्याएर त्यहाँ भएको सुनको सिक्री, औँठी र केहि पैसा चोरेको होटलका सञ्चालक गोविन्द अखेलीले जानकारी दिनुभयो । यस्तै उपल्लो बजारको मेडिकलको पैसाको बाकस खोलेको, र अन्य पसलमा पनि पैसाको बाकस नै खोलेको देखिएको छ ।

सिवाईसी सहकारीमा चोर पसेको जानकारी पाउने बित्तिकै प्रहरीलाई खबर गरिएको थियो । खबर पाए लगतै प्रहरी र स्थानीयहरुको सहायताले कुश्मिसेरा बजार वरपर चोरको खोजि गरिएको भएपनि फेला पार्न नसकिएको कुश्मिसेरा प्रहरी चौकीले जनाएको छ । अन्यत्र पनि चोरी भएको भन्ने जानकारी भने सबै उठेपछि मात्र भएको थियो ।

चोरले ताला फोडेर भित्र छिर्ने र ताला नै लागेको पाइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार