पर्वतकाे फलेवास नगरपालिकाकाे उदाहरणाीय काम: बेराेजगार नागरिक पेन्सन योजना शुरु

याे सामग्री सेअर गर्नुहाेस्

पर्वत, ८ फागुन २०७७ ।

पर्वतकाे फलेवास नगरपालिकामा श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन योजना शुरु भएको छ । नगरापालिकाभित्रका असङ्गठित मजदूर तथा बेरोजगार नागरिकलाई ६० वर्षको उमेरपछि आर्थिक समस्या नहोस् भनेर नगरपालिकाले नागरिक पेन्सन कार्यक्रम शुरु गरेको हो ।

साठी वर्षको उमेरसम्म मानिस नियमित कामकाज गर्न सक्छन् तर बुढेसकाल लागेपछि श्रम गर्न पनि नसक्ने र आर्थिक समस्या पर्दै जाने भएकाले यस्तो कार्यक्रम शुरु गरिएको हो । असङ्गठित मजदूरले काम गर्न सक्ने उमेरसम्म मासिक रुपमा नगरपालिकामा रु ५०० का दरले जम्मा गर्ने र सोही दरमा नगरपालिकाले पनि जम्मा गरिदिन्छ । यसरी जम्मा भएको रकम नगरपालिकाले ६० वर्ष नाघेपछि एकमुष्ठ वा पेन्सनको रुपमा भुक्तानी गर्ने गरी कार्यविधि तयार पारेको फलेवास नगरपालिकाले जनाएको छ । यो रकम नागरिक लगानी कोषमा जम्मा हुने व्यवस्था गरिएको छ ।

नागरिक लगानी कोषले अन्य निजामती कर्मचारीसरह फलेवासका मजदूरलाई पनि ६० वर्षपछि एकमुष्ठ वा पेन्सनको रुपमा भुक्तानी गर्ने गरी नगरपालिकासँग सम्झौता गरिएको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । शुक्रबार नागरिक पेन्सन योजनाको शुभारम्भका अवसरमा उक्त सम्झौता पत्रमा दुवै पक्षले हस्ताक्षर गरेका हुन् ।

यो कार्यक्रममा पहिलो चरणमा नगरभित्रका ८०० मजदूरलाई सूचीकृत गरिएको छ । उनीहरुले गएको पुस महिनादेखिनै रकम जम्मा गर्न थालेको कार्यक्रम संयोजक रमेश शर्माले जानकारी दिनुभयो । साठी वर्षको वृद्धावस्था शुरु भएपछि पनि दैनिक घर खर्च चलाउन अरुको भर पर्न नपरोस् र आर्थिक अभावमा वृद्धवृद्धाले खान लगाउनबाट वञ्चित हुन नपरोस् भनेर सञ्चालन गरिएको यो कार्यक्रम प्रभावकारी हुने शर्माले बताउनुभयो ।

कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख शर्माले फलेवासमा मजदूरको युग शुरु भएको बताउनुभयो । नेपालमै पहिलोपटक नागरिक कल्याणकारी कोष स्थापना गरेर पेन्सन दिने अभियान थालिएको बताउँदै शर्माले यो कार्यक्रमले कोही पनि आर्थिक अभावमा बाँच्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो । यस कार्यक्रममा अर्को वर्षसम्म एक हजार ३०० भन्दा बढी मजदूरलाई आबद्ध गरिने उहाँले बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले जनप्रतिनिधि नागरिकको कल्याण र सेवाका लागि दिगो योजनाका साथ लागेका छन् भन्ने प्रमाण यो अभियानले देखाएको बताउनुभयो । कार्यक्रममा नागरिक लगानी कोषका कार्यकारी निर्देशक नेपालले वर्तमानमा बचत गरेर भविष्यमा पेन्सन पाउने यो कार्यक्रम निकै उपयोगी हुने बताउनुभयो । उहाँले मजदूरको कल्याण र गरिबी निवारण तथा बेरोजगारी अन्त्यका लागि यो कार्यक्रम फलदायी हुने विश्वास गर्दै मजदूरलाई मासिकरुपमा रु ५०० बचत गर्न नछाड्नसमेत आग्रह गर्नुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार