हिमालयन बोर्डिङ कुश्मिसेराको बार्षिकोत्सव सम्पन्न, व्यवहारिक शिक्षामा जोड

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० फागुन २०७९ ।

हिमालयन आवासीय माध्यामिक विद्यालयको ३१ औं बार्षिकोतसव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिका १ कुश्मिसेरामा अवस्थित विद्यालयको ३१ औं बार्षिकोत्सव मंगलबार सम्पन्न भएको हो ।

आइतबार देखि सुरु भएको बार्षिकोत्सवको मुल समारोहको उद्घाटन पछि बोल्दै प्याब्सन बागलुङका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दल थापाले शिक्षा सुधारको लागि निजी र सामुदायिक दुवै विद्यालयको उत्तिकै भूमिका हुने भन्दै अबको शिक्षा टिक्ने र बिक्ने खालको हुनुपर्ने बताउनुभयो । निजी विद्यालयमा अध्यायन गराउने शिक्षकहरुको लागि पनि राज्यले तालिम र सिपको व्यवस्था गर्नुपर्ने भन्दै उहाँले विद्यालयले अब गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले जैमिनी नगरपालिकाको एकमात्र निजी विद्यालयको रुपमा रहेको हिमालयन बोर्डिङले यस क्षेत्रका नागरिकहरुको लागि गुणस्तरीय शिक्षा प्रदान गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो । निजी विद्यालयमा अंक र श्रेणीमा बढी जोड दिने तर अन्य क्रियाकलापमा कम ध्यान पुग्ने गरेको प्रति लक्षित गर्दै उहाँले कुनैपनि विद्यार्थीलाई नम्बर मात्रै नभएर हरेक कुरामा पूर्ण हुनुपर्छ भन्नेमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

यस्तै शुभकामना मन्तव्य राख्दै जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्यले नगरपालिकाले हिमालयन मा.विलाई हरेक क्रियाकलापमा सहभागी गराइरहेको बताउनुभयो । संस्थागत विद्यालय भएतापनि यस भेगका नागरिकहरुलाई शिक्षा प्रदान गरिरहेको र नगरपालिकाको अधिकार क्षेत्रभित्र परेकाले यसको शैक्षिक उन्नयनका लागि नगरपालिका सँधै सकारात्क तरिकाले सहयोग गर्न तयार रहेको उहाँको भनाई छ । कार्यक्रममा बाेल्ने वक्ताहरूले अबकाे शिक्षा व्यवहारिक र गुणस्तरीय हुनुपर्नेमा जाेड दिएका थिए ।

बार्षिकोत्सवको अवसरमा अभिभावकहरु विच मंगलबार भएको घैँटोफोर प्रतियोगितामा मिना आचार्य विजेता बन्नुभएको छ । यस्तै महिला अभिभावक तर्फ तातो आलु प्रतियोगितामा चन्द्रा गुरुङ प्रथम, मनिषा वि.क द्वित्तीय र माया शर्मा तृतीय भएका छन् । यस्तै पुरुष अभिभावकतर्फ तातो आलु प्रतियोगितामा चित्र प्रसाद चापागाईँ प्रथम भएका छन् । कार्यक्रममा एसईमा उत्तिर्ण भएका विद्यार्थीका अभिभावकलाई र शिक्षक कविता मल्ल र डिल्लीराम रिजाललाई सम्मान गरिएको छ ।

सोमबार जैमिनी नगरपालिकाका विद्यालयहरुविच (कक्षा ६ देखि ८ सम्म) को हाजिरी जवाफ प्रतियोगिता, नगरभरका कक्षा ४ र ५ का विद्यार्थीहरुविच हिसाब दौड प्रतियोगिता र नगर स्तरीय कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुविच गुच्चा चम्चा दौड प्रतियोगिता भएको छ भने सोमबार नै विद्यालय परिवार तथा अभिभावकहरुविच मैत्रीपूर्ण भलिवल प्रतियोगिता समेत सञ्ञ्चालन भएको विद्यालयका प्रिन्सिपल शिवलाल शर्माले जानकारी दिनुभयो ।

विभिन्न कार्यक्रम गरी ३ दिन सम्म मनाइएको बार्षिकोत्सवको अवसरमा आइतबार विद्यालय स्तरीय विविध प्रतियोगितात्मक कार्यक्रम भएको थियो । प्रि प्राइमरी तर्फ चकलेट दौड र बेलुन फुटाउने प्रतियोगिता, कक्षा १ देखि ५ सम्मको हिसाब दौड, थाल गिलास दौड प्रतियोगिता, कक्षागत एकल नृत्य, र कक्षा ६ देखि कक्षा १० सम्मको सदनात्मक बोरा दौड प्रतियोगिता, भलिवल प्रतियोगिता र रस्साकस्सी प्रतियागिता आइतबार नै सम्पन्न भएको प्रिन्सिपल शर्माले बताउनुभयो ।
मुल समारोहका दिन मंगलबार बिभिन्न प्रतियोगितामा विजेता हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो भने विद्यार्थीहरुले बिभिन्न साँस्कृतिक प्रस्तुतीहरु राखेका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार