नेपाल स्काउटले अब देशका सबै पालिका हुँदै त्यहाँका विद्यालयमा स्काउट संरचना निर्माण गर्ने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, १५ बैशाख २०७८ ।

नेपाल स्काउटले अब देशका ७ सय ५३ वटै पालिका हुँदै त्यहाँका सबै विद्यालयमा स्काउट संरचना निर्माण गर्ने भएको छ ।

नेपाल स्काउटले आज पत्रकार सम्मेलन गरी देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गर्ने तयारी गरिएको जानकारी दिएको हो । स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार २००९ सालमा गठित स्काउट विगतमा सिमित क्षेत्रमा क्रियाशील भए पनि देशैभरी सक्रिय बनाउने उद्देश्यले सबै पालिकामा विस्तार गर्ने तयारी गरिएको जानकारी दिनुभयाे ।

 

परम्परागत संरचनामा खुम्चिएर रहेको स्काउटले नयाँ संरचनासँगै समयको मागअनुसार गतिशील हुने अवसर पाएको उहाँको भनाइ थियो । संयोजक भण्डारीले भन्नुभयाे, ‘विगतमा भन्दा अहिले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै स्काउट गतिविधि बढेको पनि छ, परिणामस्वरुप विगत लामो समयदेखि निष्क्रिय देखिएको नेपाल स्काउटको अन्तर्राष्ट्रिय सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।’

 

स्थानीय संरचना अन्तर्गत हरेक विद्यालयमा कम्तीमा एक स्काउट समिति बन्नेछ । ती समितिमार्फत विद्यार्थीले अनुशासन, कुलतबाट बच्ने उपाय, सामाजिक कार्यमा सक्रियता एवं शारीरिक तथा मानसिक विकाससम्बन्धी तालिम प्राप्त गर्नेछन् । स्काउटको इतिहासमा यस आर्थिक वर्षमात्र ५० हजार बढी स्काउट स्वयंसेवक परिचालन गरिएको र कोभिडको महामारीमा शव व्यवस्थापनसम्मका सामाजिक कार्यमा सक्रिय रहेको संयोजक भण्डारीले जानकारी दिनुभयाे ।

 

नेपाल स्काउट ऐन २०५५ अनुसार प्रधानमन्त्री नेपाल स्काउटका संरक्षक र युवा तथा खेलकुदमन्त्री प्रमुख स्काउट हुने व्यवस्था रहेको छ । प्रदेशमा मुख्यमन्त्री संरक्षक सामाजिक विकासमन्त्री प्रमुख स्काउट हुने व्यवस्था छ । स्थानीय पालिकामा, पालिका प्रमुख संरक्षक तथा पालिका उपप्रमुख प्रमुख स्काउट हुने व्यवस्था छ । यसबाट सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा नीतिगत रुपमै हरेक विद्यालयमा स्काउट युनिटहरू सञ्चालन गर्ने स्काउटको योजना छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार