बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि खुल्यो , काेरिडाेरकाे कष्टकर यात्राबाट छुटकारा

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २६ असाेज २०७८ ।

बागलुङको दक्षिण क्षेत्र जोड्ने बाग्लुङ–कुश्मिसेरा सडक बन्द भएको तीन महिनापछि खुलेको छ । बागलुङ नगरपालिका–१० दब्लाङमा असारमा गएको ठूलो पहिरोले सडक खण्डसहित कालीगण्डकी करिडोरसमेत बन्द बनेको थियो ।

सडक नियमित गर्ने प्रयास गरिए पनि पहिरो झर्ने जोखिमका कारण दक्षिण क्षेत्रका नागरिकले तीन महिनायता सास्ती खेप्नु परेको थियो । सडक खुलेसँगै दशैँमा घर जान आउन सहज भएको छ । निरन्तरको दबाबपछि दुई हप्ता अघि मर्मत सुरु गरिए पनि वर्षा भएका कारण सडक पहिरोले बगाएपछि सडक सञ्चालनमा ल्याउन केही ढिलाइ भएको मालढुङ्गा कुश्मिसेरा सडक मर्मत समितिका अध्यक्ष यादव शर्माले जानकारी दिनुभयो ।

सरोकारवाला निकायले पटक–पटक निरीक्षण गरे पनि भौगोलिक अवस्थाका कारण सडक नियमित गर्न कठिनाइ भएको थियो । बागलुङ नगरपालिकाको जनश्रमदानसहित २० लाख ९३ हजार रुपैयाँ विनियोजन गरी मर्मतको काम अगाडि बढाइएको थियो ।

उपभोक्ता समितिमार्फत सडक मर्मत गरी तत्कालका लागि एकातर्फी रुपमा भए पनि गाडी सञ्चालनमा ल्याइएको उपभोक्ता समितिका अध्यक्ष शर्माले जानकारी दिनुभयो । सरोकारवाला निकायले अनुगमन गर्दा लागत अनुमान धेरै भए पनि अहिले तत्कालै जनताले पाएको दुःखलाई मध्यनजर गर्दै नगरपालिकाको विपद् व्यवस्थापनबाट केही रकम छुट्याएर काम अगाडि बढाइएको बागलुङ नगरपालिका– १३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले बताउनुभयो ।

लामो समयदेखि बाग्लुङकाे दक्षिणी भेग तथा बागलुङ नगरपालिकाको बलेवा क्षेत्र सडक सम्पर्कविहीन बनेपछि सहज होस् भनेर मर्मत सुरु गरिएको हो । नगरपालिकाले जनश्रमदान बाहेक १६ लाख ६० हजार रुपैयाँ सडकलाई छुट्याएको उपभोक्ता समितिका सचिव ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो ।

सडक बन्द हुँदा भकुण्डे, रायडाँडा, बलेवा क्षेत्र, जैमिनी र बरेङ गाउँपालिकाका यात्रुले सास्ती खेप्नु परेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो