बागलुङ, १७ माघ २०७८ ।
बागलुङको जैमिनी संस्कृत आधारभुत पाठशालाका विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी सामग्री सहयोग गरिएको छ । हिन्दु जागरण नेपाल युएईको सहयोगमा जैमिनी नगरपालिका वडा नं २ शिवपुरी दमेकमा रहेको पाठशालाका विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी सामग्री सहयोग गरिएको हो ।
जैमिनी नगरपालिका वडा नं २ का वडा सदस्य कृष्ण प्रसाद रिजालको विशेष उपस्थितिमा विद्यालयका २३ जना बटुकहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरिएको विद्यालयका शिक्षक दिपक न्यौपानेले जानकारी दिनुभयो । आवाशीय सुविधा सहित निशुल्क गुरुकुल पढाई हुने सो विद्यालय दाताहरुको सहयोगमा नै चलिरहेको छ ।
एक जना स्थाई शिक्षक भएपनि शिक्षकको सरुवा भएपछि अहिलेसम्म विद्यालयमा शिक्षक नआएकोले पठनपाठनमा समस्या परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद सापकोटाले बताउनुभयो । दाताहरुको मुठीदान र सहयोगमा निशुल्क शिक्षा दिइरहेको सो विद्यालयमा अन्य श्रोत केहि नभएको उहाँको भनाई छ ।
सहयोगी दाताप्रति धन्यवाद दिँदै वडा सदस्य कृष्ण प्रसाद रिजालले सबैले आ आफ्नो ठाउँबाट सहयोग गरे विद्यालय सञ्चालनमा समस्या नआउने बताउनुभयो । नगरपालिकामा आफुले सक्दो पहल गरिरहेको भन्दै उहाँले यस्ताखाले सहयोगको पनि आवश्यक रहने बताउनुभयो ।
जैमिनी नगरपालिका वडा नं १ किसेक निवासी काशिराम पौडेल लगाएतको पहलमा सो सहयोग पठाइएको थियो । सहयोगी दाताहरुले आगामी दिनमा पनि यस्ताखाले सहयोगहरु गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रमका वक्ताहरुले हराउँदै गएको संस्कृति र अनुशासन जोगाउन गुरुकुल शिक्षाको महत्वपूर्ण भूमिका रहने भन्दै विद्यालय प्रति आभार व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहाेस्