सिवाईसी सहकारीले गर्‍यो जैमिनीका जनप्रतिनिधिलाई सम्मान, समितिको पनि पुर्नगठन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २२ जेठ २०७९ ।

सिवाईसी सहकारीले जैमिनीका नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङले यहि बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट जैमिनी नगरपालिकामा निर्वाचित भएका सबै पदाधिकारीहरुलाई बधाई तथा सम्मान गरेको हो ।

सिवाईसी साकोसका केन्द्रिय अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको उपस्थितिमा जैमिनी नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको सिवाईसी साकोस जैमिनी सेवाकेन्द्र कुश्मिसेराका संयोजक कृष्ण प्रसाद रिजालले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख, उप प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यहरुलाई सम्मान गरिएको उहाँको भनाई छ ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले जैमिनी नगरपालिकामा आगामी योजना बनाउँदा सहकारीसँग सहकार्य गर्नेगरी कृषि तथा उत्पादनमा आधारित योजनाहरु बनाइने बताउनुभयो । सिवाईसी सहकारीले नमुना काम गर्दै आइरहेको भन्दै उहाँले युवाहरुलाई देशमा नै रोजगारी दिने र स्वरोजगार बनाउने विषयमा नगरपालिकाले सिवाईसीसँग मिलेर सहकार्य गर्ने बताउनुभयो ।

कार्यक्रममा सिवाईसी साकोसका केन्द्रिय अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले सिवाईसी सहकारीको बारेमा जानकारी दिँदै आफूहरुले शेयर सदस्यहरुको दुःख सुखमा हातेमालो गर्दै आएको बताउनुभयो । शेयर सदस्यहरुको हितको लागि सहकारीले बिभिन्न सुविधाहरु दिँदै आएको भन्दै उहाँले सहकारीसँग सहयात्रा गरेर काम गर्न जैमिनी नगरपालिकालाई सुझाव दिनुभयो ।

यस्तै आइतबार नै सिवाईसी साकोस जैमिनी सेवाकेन्द्रको सञ्चालक समितिको पुर्नगठन गरिएको छ । ७ सदस्यीय समिति रहेको सेवाकेन्द्रको संयोजकमा यस अघिकै संयोजक कृष्ण प्रसाद रिजाल दोहोरिनुभएको छ । सह संयोजकमा रिना कुमारी थापा, सचिवमा सुजन प्रेमी सुवेदी, कोषाध्यक्षमा पुष्पा शर्मा र सदस्यहरुमा लक्ष्मी शर्मा, तिल प्रसाद पौडेल र शंकर सापकोटा चयन हुनुभएको सहकारी श्रोतले जनाएको छ ।

यस्तै परामर्शदातामा क्याप्टेन पदम बहादुर श्रीस, विष्णु आचार्य र चित्र प्रसाद चापागाईँ चयन हुनुभएको छ ।

सिवाईसी सहकारीमा करिव २४ हजार शेयर सदस्य रहेका छन् । सहकारीले आफ्ना शेयर सदस्यहरुलाई पेन्सन सुविधा सहित बिभिन्न सेवा दिइरहेको छ । सिवाईसीले प्रविधिलाई पनि भरपुर प्रयोग गर्दै मोबाइल बैंकिङ, एटिएम, मिस्कल बैंकिङ लगाएतका सेवाहरु समेत प्रदान गरेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार