जैमिनीमा प्रमुख र उप प्रमुखको पद बहाली, निवर्तमान जनप्रतिनिधिलाई विदाई

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ६ जेठ २०७९ ।

बागलुङको जैमिनी नगरपालिकामा नव निर्वाचित नगर प्रमुख र उप प्रमुखले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार नव निर्वाचित नगर प्रमुख नर बहादुर पुन र उप प्रमुख हरिहर शर्माले पद बहाली गर्नुभएको हो ।

पद बहाली सँगै नगर प्रमुख पुनले जनताहरुलाई सरल तरिकाबाट सेवा दिनको लागि नागरिक सहायता कक्ष स्थापना गर्ने प्रतिवद्धता जनाउनुभएको छ । स साना कामहरु गरे जनताहरुको समस्या समाधान हुने भनदै उहाँले अब जन जनको आवश्यकता हेरेर काम गर्ने बताउनुभयो । पद बहाली पछि उप प्रमुख हरिहर शर्माले नगरपालिकामा सञ्चालन हुने योजनाको चुस्त दुरुस्त रुपमा अनुगमन गरिने र न्याय क्षेत्रमा जैमिनी वासीहरुले ढुक्क र सुरक्षित हुने वातावरण सिर्जना गर्ने जानकारी दिनुभयो । आफ्नो अधिकार क्षेत्रभित्र परेका काम कर्तव्य र अधिकारलाई आफूले भरपुर सदुपयोग गरी नागरिकहरुलाई सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाउँदै उहाँले सुखी जैमिनी समृद्ध जैमिनीको नारालाई आत्मसात गरेर अगाडि बढ्ने बताउनुभयो ।

यस्तै शुक्रबार नै नव निर्वाचित जनप्रतिनिधिहलाई सपथ ग्रहण, स्वागत र निवर्तमान जनप्रतिनिधिहरुलाई विदाई गरिएको छ । नव निर्वाचित नगर प्रमुख नर बहादुर पुनले नगर उप प्रमुख हरिहर शर्मा सहित १० वटै वडाका वडाध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहण पछि सबै जनप्रतिनिधिहरुले एक आपसमा हातेमालो गर्दै जनताको सेवा गर्ने प्रतिवद्धता जनाएका छन् ।

जैमिनी नगरपालिकाका निवर्तमान जनप्रतिनिधिहरुलाई विदाई र निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल बिहिबार राति १२ बजेदेखि सकिएको थियो ।

बिदाई कार्यक्रममा निवर्तमान नगर प्रमुख ईन्द्रराज पौडेलले आफूहरुले गर्न बाँकी अधुरा कामहरु अबका जनप्रतिनिधिहरुले पुरा गर्ने आशा व्यक्त गर्नुभएको छ । आफ्नो कार्यकाल नयाँ र सुरुवाती भएकाले सोचेका कामहरु समेत गर्न नसकिएको भन्दै उहाँले जनहितका र राम्रा कामहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । आफ्नो ५ बर्षे अनुभव सुनाउँदै निवर्तमान नगर उप प्रमुख लिला रानाले जनताहरुको चाहना अनुरुप काम गर्न पूर्वाधार देखि भवन सम्मको अभाव भएकाले आफ्नो कार्यकालमा त्यसको थालनी मात्रै भएको बताउनुभयो । गाविस बाट बनेको नगरपालिका भएकाले पनि कर्मचारी देखि हरेक कुराको व्यवस्थापनमा नै आफूहरुको समय खर्च भएको बताउँदै उहाँले अब थोरै आधार तय भएकाले काम गर्न सजिलो हुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले स्थानीय तह नै जनताको सरकार भएकाले यसलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । हरेक विपत्ति आइपर्दा स्थानीय सरकारका प्रतिनिधिहरु जनताको घरदैलोमा पुग्नुपर्ने भनदै उहाँले सिंह दरबार गाउँ गाउँमा पुगेको अनुभूति जनतालाई गराउन आग्रह गर्नुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार