जैमिनीमा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइयो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ७ कात्तिक २०७९ ।

बागलुङको जैमिनीमा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ । आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आइतबार धन्वन्तरी जयन्ती मनाइएको हो ।

जैमिनी नगरपालिका आयुर्वेद शाखाको आयोजनामा हरेक बर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती दमेक आर्युवेद औषधालयमा धन्वन्तरीको पुजा गरी मनाइएको आयुर्वेद शाखाका प्रमुख डाक्टर लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो । आरोग्यताको प्रतिक धन्वन्तरी जयन्तीको दिन आरोग्य दिवस पनि मनाउने गरिएको छ ।

कार्यक्रमको अवसरमा जैमिनी नगरपालिका आयुर्वेद शाखाका संयोजक तथा दमेक आयुर्वेद औषधालयका प्रमुख डाक्टर लक्ष्मी प्रसाद शर्माले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको बारेमा प्रकाश पार्दै २०५६ सालदेखि आरोग्य दिवस मनाउन थालिएको बताउनुभयो । नेपाल आयुर्वेद चिकित्सक संघको पहलमा २०५६ साल देखि सरकारले आरोग्य दिवस मनाउने घोषणा गरे अनुरुप धन्वन्तरी जयन्तीका दिन आरोग्य दिवस मनाउने गरिएको उहाँको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा जैमिनी नगरपालिका २ नम्बर वडाका वडाध्यक्ष प्रेम सापकोटाले परापूर्व कालमा जडिबुटीको सेवन गरी स्वास्थ्योपचार गर्ने गरिएकोमा अहिले त्यो चलन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । हाम्रा वरपर पाइने जडिबुटी चिन्न सके आर्थिक भार पनि कम पर्ने र स्वास्थयको लागि पनि फाइदा हुने भएकाले आयुर्वेदिक जिवनशैली अपनाउन उहाँले आग्रह गर्नुभयो । कार्यपालिका सदस्य भगवती सापकोटाले आयुर्वेदको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग र पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै स्थानीय खानेकुरा र जडिबुटीको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा दमेक आर्युवेद औषधालयका संस्थापक अध्यक्ष उमाकान्त सापकोटाले विगतका दिनहरुमा आधुनिक किसिमको स्वास्थ्य उपचार विधि नभएकाले आयुर्वेदको महत्व रहेको बताउनुभयो । आफूहरुले स्थापना कालदेखि नै आयुर्वेद औषधालय बचाइराख्न मेहनत गरेका दिनहरु सम्झना गर्दै सापकोटाले आधुनिकताले आयुर्वेदको महत्व घटाएको जस्तो देखिएपनि आयुर्वेदिक जिवनशैलीले मानव स्वास्थ्यमा ठुलो फाइदा गर्ने धारणा राख्नुभयो । अहिले स्थानीय तह लागु भैसकेपछि यस्ताखाले संस्थाहरुले प्राथमिकतामा राखेर व्यवसथापन गरे यसले धेरै नागरिकहरुको स्वास्थ्यमा हित गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा दमेक आयुर्वेद औषधालय व्यवस्थापन समितिका सदस्य कृष्ण प्रसाद रिजालले दमेकमा आयुर्वेदिक औषधालय सञ्चालन गर्दा यहाँका धेरै नागरिकहरुले सरल सेवा लिन सकेको बताउँदै अझै व्यवस्थित र सुविधा सहित सेवा दिन आग्रह गर्नुभयो ।

यस्तै सोहि अवसरमा दमेक आयुर्वेद औषधालयको समिति पुर्नगठन गरिएको छ । जसमा कार्यविधि अनुसार जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन संरक्षक, वडा नं २ का वडा अध्यक्ष प्रेम सापकोटा व्यवस्थापन समितिका अध्यक्ष र कार्यपालिका सदस्य भगवती सापकोटा उपाध्यक्ष चयन हुनुभएको छ । सदस्यहरुमा शिक्षिका गीता सापकोटा, व्यवसायी टंक प्रसाद सापकोटा, महिला स्वयं सेविका डिल कुमारी सापकोटा चुनिनुभएको छ । पदेना सदस्यमा वडा नं २ का वडा सचिव विष्णु चालिसे र सदस्य सचिवमा प्रमुख डाक्टर लक्ष्मी प्रसाद शर्मा रहनुभएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार