मेलमिलाप समुह कुश्मिसेराद्वारा क्यान्सर र मृगौला पीडितलाई नगद सहयोग हस्तान्तरण

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १६ माघ २०७९ ।

कुश्मिसेराको मेलमिलाप समूहले क्यान्सर र मृगौला रोगबाट पीडितहरुलाई राहत सहयोग गरेको छ । बागलुङको जैमिनीमा रहेको समूहले देउसी भैलो खेलेर उठाएको रकमबाट क्यान्सर र मृगौला पीडितलाई सहयोग गरेको हो ।

आइतबार कुश्मिसेराका क्यान्सर पीडित मन बहादुर परियारलाई ५ हजार रुपैयाँ रकम प्रदान गरिएको समुहका अध्यक्ष मन बहादुर बहिकले जानकारी दिनुभयो । यसअघि समुहले जैमिनी नगरपालिका १ कुश्मिसेरा टारकी मृगौला पीडित चित्रादेवी पाध्या, जैमिनी नगरपालिका ४ सर्कुवाकी मृगौला पीडित सरिता नेपाली, जैमिनी नगरपालिका ८ छिस्तीका क्यान्सर पीडित ईन्द्र पुन, जैमिनी नगरपालिका–९ पैयुँथन्थापका टिका थापा र जैमिनी नगरपालिका–१० राङ्खानीका गंग बहादुर थापालाई जनहीँ ५÷५ हजारका दरले सहयोग गरिएको उहाँको भनाई छ ।

पीडितका लागि थोरै भएपनि राहत होस् भनेर सम्बन्धित व्यक्ति र आफन्तलाई रकम हस्तान्तरण गरिएको छ । जैमिनी नगरपालिकाभर रहेका मृगौला रोगीहरुको उपचारका लागि सानो भएपनि सहयोग होस् भन्ने उद्देश्यले तत्काल ६ जनालाई जनहीँ ५ हजारका दरले रकम सहयोग गरिएको संस्थाका सचिव बलराम थापा मगरले जानकारी दिनुभयो । जैमिनी नगरपालिकाभरको मृगौला रोगीहरुलाई आफूहरुले सहयोग गर्ने भएकाले थोरै रकम प्रदान गरिएको उहाँको भनाई छ ।

जैमिनी नगरपालिकामा लामो समयदेखि बसोबास गरिरहेका सहित हाल जैमिनीमै रहेका नगरवासी मृगौला तथा क्यान्सर रोगीहरुलाई जनहीँ ५ हजारका दरले सहयोग गर्ने निर्णय भएको समूहले जनाएको छ । वडाको सिफारिस सहित सम्पर्क गर्नेहरुलाई समूहले सहयोग गर्ने बताइएको छ ।

देउसी भैलो खेलेर संस्कृति पनि बच्ने र कसैको ज्यान पनि बच्ने भएकाले आफूहरुले मृगौला रोगीहरुलाई सहयोग गर्ने योजना बनाएको समूहका अध्यक्ष मन बहादुर बहिकले बताउनुभयो । चाडवाडमा गरेको रमाइलोले केहि रकम जोहो भएको र यसैबाट पीडितहरुलाई सहयोग गर्ने उहाँको भनाई छ ।

समूहले गतबर्ष देउसी भैलो खेलेर ७७ हजार रुपैयाँ बचत गरेको र यो बर्ष १ लाख २६ हजार बचत गरेकोे छ । समूहले केहि बाद्यबाधनका सामग्री समेत जोहो गरेको बताइएको छ । गएकोे तिहारमा समूहले लोप हुँदै गएको सोरठी सहित पुरानो तरिकाबाट देउसीभैलो खेलेका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार