सन्ध्या आचार्य
बागलुङ, २३ बैशाख २०८० ।
बागलुङको जैमिनीमा बजार अनुगमन गरिएको छ । शनिबार जैमिनी नगरपालिका १ कुश्मिसेरा बजारमा बजार अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यलय बागलुङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय बागलुङ, जैमिनी नगरपालिकाका जनप्रतिनिधि, कृषि शाखा, प्रहरी पत्रकार र बजार व्यवस्थापन समितिको रोहवरमा शनिबार बजारको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । अनुगमनको क्रममा म्याद नाघिएका खाद्यान्न भेटिएको, दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, केहि पसलमा बिल, छाप नभएको, मूल्यसूचि नराखी कारोबार गरिएको, एकै ठाँउमा फरकफरक प्रकुतिका सामानको व्यवसाय गरेको पाईएको बरालले बताउनुभयो ।
पटकपटक अनुगमन गरी सुझाव दिँदा पनि अटेरी गरिएको भन्दै केहि व्यवसायका प्रमुखहरुलाई आइतबार जिल्ला प्रशासन कार्यलय बागलुङ बोलाईएको छ ।
अनुगमनको क्रममा थोरै समस्या रहेका पसललाई सुझाव दिईएको थियो भने कतिपय कानुनी समस्या रहेका पसलहरुलाई बन्द समेत गराई स्थानिय जनप्रतिनिधिलाई चाबि हस्तान्तरण गरिएको छ । सुझाव दिईएको पसललाई एक हप्ताभित्र सुझाव अनुुसार काम नभए कानुनी प्रक्रिया अपनाईने पनि बरालले बताउनुभयो ।
केहि म्याद नाघिएका भेटिएका खाद्यान्नलाई जनप्रतिनिधिको जिम्मा लगाइएको छ । यसभन्दा पहिले पनि बजारको अनुगमन गरिएको थियो । बजारका सबै खालका व्यवसाय अनुगमन गरी, सबै व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न, आवश्यक कागजपत्र सबै पसलमै राख्न, म्याद नाघिएका खाद्यान्न नराख्न र फरक फरक प्रकृतिका व्यवसाय एकै ठाँउमा नराख्न सुझाव दिईएको छ ।
प्रतिक्रिया दिनुहाेस्