शैक्षिक उन्नयनका लागि शान्तिदीप बहुमुखी क्याम्पसको अन्तरक्रिया: पढाई अब्बल, विद्यार्थी कम

बागलुङ, ८ चैत २०७७ ।

शान्तिदीप बहुमुखी क्याम्पसले शैक्षिक उन्नयनका लागि अन्तरक्रिया कार्यक्रम गरेको छ । बागलुङको जैमिनी नगरपालिकाको एकमात्र क्याम्पसको आर्थिक अवस्था कमजोर हुँदै गएपछि क्याम्पसले शनिवार शैक्षिक उन्नयनका लागि भावी रणनीति निर्माण विषयक अन्तरक्रिया गरेको हो ।

जैमिनी नगरपालिकाका जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक सहित बुद्धिजिविहरुको उपस्थितिमा भएको कार्यक्रममा क्याम्पस प्रमुख झमन बहादुर थापाले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
अवधारणा पत्र प्रस्तुत गर्दै क्याम्पस प्रमुख थापाले क्याम्पसका प्राध्यापकहरुले करिव १ बर्षसम्म तलव खान नपाएको दुखेसो पोख्नुभयो ।

क्याम्पसमा बिद्यार्थी न्युन हुँदा आर्थिक कमजोर भएको भन्दै कार्यक्रमका सहभागी बिद्यार्थी बिपना आचार्यले शैक्षिक गुणस्तरमा शान्तिदीप क्याम्पस अब्बल रहेको धारणा व्यक्त गर्नुभयो । आर्थिक अवस्था कमजोर हुनुमा मुख्य कारण नै विद्यार्थी भएको उल्लेख गर्दै उहाँले बजारमा अन्य सिपमूलक तालिमहरु सिक्ने अवसर पाए विद्यार्थी बढ्न सक्ने बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले पनि क्याम्पसमा बिद्यार्थी कम हुनुको मुख्य समस्या सामान्य रोजगारीको रहेको बताएका छन् । जैमिनी नगरपालिकाले पनि सहयोग गरेर आवासको व्यवस्था गर्न सके क्याम्पसमा बिद्यार्थीहरु बढ्न सक्ने सहभागीहरुको धारणा छ ।

कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले क्याम्पसको यो अवस्था आउनु दुःखद भएको भन्दै जनताहरुले नै क्याम्पस प्रति सकारात्मक भावना विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तरक्रियामा जैमिनी नगरपालकिाका नगर प्रमुख इन्द्रराज पौडेलले नगरपालिकाको तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । क्याम्पसमा अक्षयकोष बनाएर भएपनि यसलाई सञ्चालन गर्नुपर्ने भन्दै उहाँले नगरपालिकाले करिव १० प्रतिशत सहयोग गर्ने उद्घोष गर्नुभयो ।

सहभागीहरुको जिज्ञासा प्रति उत्तर दिँदै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कासिराम आचार्यले क्याम्पसमा धान्यञ्चल गर्दा बोलिएका रकमहरु नउठेको प्रति चिन्ता व्यक्त गर्दै अब कसरी उठाउने भन्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । क्याम्पसमा आर्थिक संकट परेर तलव खाने अवस्था समेत नहुँदा स्थानीयहरुको साथ र सहयोग रहनुपर्ने उहाँको भनाई छ ।

 

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्