अस्पतालको क्यान्टिनमै कुहिएको मासु र गलेका खानेकुरा बिक्री, सराेकारवाला किन माैन छन् ?

याे सामग्री सेअर गर्नुहाेस्

भक्तपुर, २१ भदाै २०७९ ।

भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा भक्तपुरका सरकारी तथा निजी अस्पतालहरूमा सञ्चालित क्यान्टिनले कुहिएका मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ ।

नगरपालिका अनुगमन समितिले आज साेमवार गरेको अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालहरूको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताउनुभयो ।

अनुगमनमा भक्तपुर अस्पतालमा सञ्चालित सदाबहार चमेना गृहमा फ्रिजमा बिग्रेर कुहिएको कुखुरा र राँगाको मासु राखेको पाइएपछि टोलीले नष्ट गरेको छ । त्यस्तै पाकेको र काँचो खाद्य वस्तुहरू एकै ठाउँमा राखेको, अखाद्य तेलमा पटक–पटक खानेकुरा पकाएर प्रयोग गरिएको, भान्छा एकदमै फोहर र गन्हाउने रहेको अवस्थामा भेटिएको छ ।

त्यस्तै क्यान्सर अस्पतालको सुप्रिमु रेस्टुरेन्ट एन्ड मम हाउसले म्याद नाघेका चामललगायतका खाद्य सामग्री प्रयोग गरेको, भान्छा कोठा धुवाँ र तेलले कालो खार र फोहर बनाएको, चिम्नीको व्यवस्था नगरेको र पसल दर्ता नगरेको पाइएको छ ।

शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र अस्पतालमा सञ्चालित गुडविल रेस्टुरेन्ट एन्ड क्यान्टिनमा भान्छाको भुइँभित्ता फोहर भएको, फोहरको व्यवस्थित निकास नभएको, दर्ता प्रमाणपत्र पसलमा नभएको पाइएपछि टोलीले दर्ता प्रमाणपत्र लिएर वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको अनुगमन समितिका सदस्य रामप्रसाद प्रजापतिले जानकारी दिनुभयो ।

त्यस्तै इवामुरा अस्पतालमा रहेको सुनिता खाजा घरमा भान्छामा फोहर रहेको, मूल्यसूची नराखेको, फ्रिजमा खाद्य वस्तुहरू, जुस र आइसक्रिमसँगै राखेको, विगत १० वर्षदेखि पसल दर्ताविना नै सञ्चालनमा रहेकोले तीन दिनभित्र वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको उहाँले बताउनुभयो ।

टोलीले सबै अस्पतालका कामदारहरूलाई एप्रोन, मास्क, पञ्जा, हेयरनेट प्रयोग गर्न, भान्छा सफा एवम् व्यवस्थित गरी ग्यास सुरक्षित राख्न र तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको प्रजापतिले जानकारी दिनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार