मनसुनकाे विपत्तिः बाढीपहिरोमा परेर ८५ जनाकाे ज्यान गयाे, ४४ जना वेपत्ता

काठमाडौँ, ११ भदौ २०७८ ।

मनसुन शुरु भएयता गत जेठ ३१ पछिसम्म मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी अन्य ४४ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म पाँच हजार ५०० भन्दा बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिनुभयो ।

गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापनसम्बन्धीे बैठकमा विवरण सार्वजनिक गर्दै उहाँले अहिलेसम्म विपद्बाट ७० जिल्ला प्रभावित भएको जानकारी दिनुभयो । आजमात्रै बाढीबाट ४०० जना प्रभावित भएको र उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । आज तीनको मृत्यु र तीन जना वेपत्ता भएका छन् । त्यस्तै १९ घरमा क्षति भएको जनाइएको छ । बाढी पहिराले क्षति पुर्याएको ३८ जिल्लामा पुनःनिर्माण गर्न रु एक अर्ब ११ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

महाशाखा प्रमुख पाण्डेले बाढी पहिराका कारण आज साना ठुला गरेर २९ सडक अवरुद्ध भएको जानकारी दिनुभयो । केही खुलेका र केही खुल्न बाँकी रहेका छन् । प्राप्त विवरणअनुसार यसपालिको वर्षाका कारण कैलाली, नवलपरासी, कञ्चनपुर, कैलाली, दाङ, रौतहट, रुपन्देही, महोत्तरी, कपिलवस्तु, चितवन, खोटाङ, सिन्धुली, बाजुरालगायत जिल्ला प्रभावित भएको गृहमन्त्रालयले जनाएको छ ।

याे सामग्री सेयर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार