कर्मचारीकाे मनाेमानीः यातायात व्यवस्था विभागमा लाइसेन्सको चाङ, लिनै जाँदैनन् यातायात कार्यालय

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाै, ७ कात्तिक २०७९ ।

एक वर्षअघि मोटरसाइकलको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा पास गर्नुभएका नवलपरासीका विमल पौडेल लाइसेन्स तयार भयो भनेर । म्यासेज’ आएपछि एक हप्ताअघि एकान्तकुना कार्यालयमा जानुभयो तर एकान्तकुना कार्यालयले भने लाइसेन्स आएको छैन भनेर फर्काइदियो । पौडेलजस्तै यातायात कार्यालय पुगेर फर्किनेको सङ्ख्या दैनिक हजारौँ हुन्छ ।

खासमा लाइसेन्स नछापिएको होइन वितरण गर्ने कार्यालय लिन नगएर नै सेवाग्राही सास्तीमा छन् ।यातायात व्यवस्था कार्यालय एकान्तकुना र मीनभवनस्थित यातायात व्यवस्था विभागको दूरी करिब पाँच किलोमिटर मात्रै हो । सडकमा सवारी चाप रहेका बेला पनि गाडीमा २० मिनेटको बाटो हो तर एकान्तकुना कार्यालयका कर्मचारी महिनौँदेखि लाइसेन्स बुझ्न नआउँदा पाँच हजारप्रति लाइसेन्स विभागमै थन्किएका छन् । विभागका निर्देशक श्रीचन्द्र साहले भन्नुभयो, “प्रिन्ट भइसकेपछि सम्बन्धित कार्यालयमा लाइसेन्स लिन आउनुस् भनेर फोन नै गर्छौं तर लिन कोही आउँदैनन् ।” एकान्तकुना कार्यालय एक महिनादेखि लाइसेन्स लिन गएको छैन ।

एकान्तकुना कार्यालय प्रमुख राजकुमार कपालीले भने विभागबाट लाइसेन्स लिइरहेको बताउनुभयो । उहाँका अनुसार एकान्तकुनाबाट वितरण हुन बाँकी ३२ हजारप्रति लाइसेन्स कार्यालयमै छ । एकान्तकुना मात्र होइन उपत्यकामा रहेका अन्य यातायात कार्यालयका कर्मचारी पनि लाइसेन्स लिन जाँदैनन् । चाबहिल कार्यालयका झन्डै तीन हजार पाँच सयप्रति साइसेन्स विभागमै थन्किएका छन् । चितवनस्थित यातायात कार्यालयका तीन हजार पाँच सय लाइसेन्स प्रिन्ट भएर बसेका छन् तर महिनौँ भइसक्यो कर्मचारी लिन आएका छैनन् । यातायात व्यवस्था कार्यालय सेतीका सात हजार पाँच सय लाइसेन्स प्रिन्ट भएका छन् तर लिन आएको छैन । वीरगञ्जका चार हजार पाँच सय लाइसेन्स प्रिन्ट भएको तीन महिना हुन थाल्यो तर सम्बन्धित कार्यालयले कुनै चासो नदिएको विभागका कर्मचारीको गुनासो छ ।

त्यस्तै राप्ती कार्यालयका दुई हजार पाँच लाइसेन्स छन् । इलामका दुई हजार र रुपन्देहीको एक हजार पाँच सय लाइसेन्स विभागमा थन्किएका छन् । सूचना गर्दा पनि यी कार्यालयबाट लाइसेन्स बुझ्न नआएको विभागले जनाएको छ । यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालय कर्मचारीको लापरबाहीका कारण सेवाग्राहीले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकिरहेका छैनन् । छापेर राखिएका लाइसेन्ससमेत कर्मचारीको लापरबाहीले गर्दा वितरण हुन सकिरहेको छैन । झन्डै ७३ हजार लाइसेन्स सम्बन्धित कार्यालयबाट बुझ्न नआएका कारण बेवारिसे जस्तै भएका छन् । तयार भएका लाइसेन्स लिन नजाने तर सेवाग्राहीलाई भने तयार भएको छैन भन्दै फर्काउने काम यातायात व्यवस्था कार्यालयका कर्मचारीले गरिरहेका छन् ।

लिन नआएपछि विभागले हुलाकबाटसमेत कार्ड पठाउने गरेको निर्देशक साहले जानकारी दिनुभयो तर हुलाकबाट पठाउँदा ढिलो हुने उहाँको भनाइ छ । विभागले हालसम्म २९ लाख पाँच हजारप्रति स्मार्ट लाइसेन्स प्रिन्ट गरेको छ । आठ महिनायताको प्रिन्ट गर्न बाँकी लाइसेन्सको सङ्ख्या सात लाख पुगेको छ । विभागका अनुसार मासिक ९० हजारप्रति लाइसेन्स प्रिन्ट हुन्छ । मासिक झन्डै एक लाख पचास हजारप्रति लाइसेन्सको माग छ । अनलाइनमा लाइसेन्सको आवेदन भरेका तर कार्यालय जाने मिति नपाएर पर्खाइमा रहेकाको सङ्ख्या एक लाख ९० हजार रहेकाे आजको गोरखापत्रमा खबर छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार