वनमा लागेको आगोका कारण एक गोठ जलेर नष्ट, ९० प्रतिशत आगो नियन्त्रणमा

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ८ बैशाख २०८० ।

वनमा लागेको आगो बस्तीमा पस्दा भण्डारा सिरबारीमा एक गोठमा क्षति पुगेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कान्लेको वनबाट लागेको आगोले भण्डारा सिरवारीमा एक गोठ जलेको हो ।

आगलागीबाट एक गोठ सहित एउटा मिनिटेलर र करिव साँढे २ सय मिटर सिँचाई पाइप जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीका कारण विद्यालय, सामुदायिक भवन र केहि घर गोठमा समेत आंशिक क्षति पुगेको छ । बिहिबार बिहान देखि जंगलमा लागेको आगो साँझसम्म ९० प्रतिशत नियन्त्रणामा आएको भएपनि पूर्ण रुपमा नियन्त्रणमा लिन नसकिएको कुश्मिसेरा प्रहरी चौकीका प्रमुख मिन बहादुर केसीले जानकारी दिनुभयो । अहिले पनि वनका केहि भागमा आगो लागिरहेको छ ।

आगलागीले कान्ले गाउँ सहित भण्डारा, सिरुवारी, कुश्मीगाउँ लगाएतका स्थान जोखिममा पर्ने देखिएपछि जिल्ला प्रहरी कार्यलय बागलुङबाट समेत प्रहरी टोली मगाएर बस्तीको जोखिम टारिएको उहाँको भनाई छ । अहिले बस्ती नजिकको आगो नियन्त्रणमा लिइएको भएपनि बस्तीबाट टाढाको आगो भने नियन्त्रणमा लिन सकिएको छैन ।

आगलागीले थप जोखिम बढ्न नदिन सचेतना फैलाएको र आगो नियन्त्रणमा लिन नागरिकहरुको समेत साथ मागिएको जैमिनी नगरपालिका १ नं वडाका वडाध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । प्रहरी प्रशासन, जनप्रतिनिधि सहित नागरिकहरुको समेत उल्लेख्य सहभागीतामा बस्तीमा आगो फैलिनबाट जोगाइएको उहाँको भनाई छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार