सुजन प्रेमी सुवेदी
ललितपुर, २२ मंसिर २०८१ ।
मामाघर अनाथालय आश्रम ललितपुरको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण प्रस्तुतिकरण गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि गोदावरी नगरपालिका १४ बाडेगाउँ ललितपुरमा अवस्थित मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर नेपाल (मामाघर अनाथालय आश्रम)ले गरिरहेको कामको बारेमा सामाजिक लेखापरिक्षण र आर्थिक बर्ष २०८०/८१ को आयव्यय विवरण सार्वजनिक गरिएको हो ।
सार्वजनिक संघ संस्थाहरुले पारदर्शिता, जवाफदेहिता, सहभागिता र अनुगमनको मूल तत्वलाई अवलम्बन गर्नुपर्ने नीति अनुरुप संस्थाको सार्वजनिक लेखा परिक्षण र गत आर्थिक बर्षको आय व्यय विवरण सार्वजनिक गरिएको मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर नेपालका संस्थापक तथा यज्ञ शिरोमणी बाल योगेश्वर विजय कृष्ण मूर्ति जी महाराजले जानकारी दिनुभयो । संस्थाले आर्थिक बर्ष २०८०/८१ मा विभिन्न शिर्षकमा कुल ६९ लाख ९० हजार १ सय १ आम्दानी गरेको छ भने विभिन्न शिर्षकमा १ करोड २१ लाख ८७ हजार ९ सय २ रुपैयाँ खर्च भएको छ ।
गत बर्ष आश्रमको सहयोगार्थ बाडेगाउँमा आयोजना गरिएको गोदावरी धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवम् श्रीमद् भागवत् विराट ज्ञान महायज्ञबाट संकलन भएको रकम स्थानीय सरकारको संरक्षणमा बचत गरिएको उहाँको भनाई छ । भक्तजन तथा दानवीरहरुको रकम उद्देश्य अनुरुप नै खर्च होस् भनेर गोदावरी नगरपालिका वडा नं ३ र वडा नं १४ का वडाध्यक्ष सहितको रोहवरमा उक्त रकम बचत गरिएको संस्थाले जनाएको छ ।
हाल भाडाको घरबाट सञ्चालित आश्रमको लागि ललितपुर नगरपालिका वडा नं ३ ललितपुरमा जग्गा व्यवस्थापन भैसकेको र आगामी पुस २७ गते पञ्चाङ्ग निर्णायक समितिको साइत अनुसार शिलान्यास गरिने संस्थापक विजय कृष्ण मूर्ति जी महाराजले बताउनुभयो । संस्थाले देशभरबाट समस्यामा परेका बालबालिकाहरुलाई उन्नत सुविधा सहित आश्रय दिइरहेको छ । २०८० साल असार १ गते औपचारिक रुपमा सञ्चालन गरिएको आश्रममा अभिभावक विहिन तथा बेसाहारा बालबालिकाहरुलाई निःशुल्क गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य लगायतको व्यवस्था गरिएको उहाँको भनाई छ ।
हाल ८३ जना बालबालिका आश्रीत उक्त आश्रम २०८० साल बैशाख ७ गते सामाजिक संस्थाको रुपमा दर्ता भएको थियो भने २०८० साल भदौ १ गते बाल अधिकार परिषदमा दताृ भएको थियो । संस्था गोदावरी नगरपालिकामा दर्ता सहित नियमानुसार आन्तरिक राजश्व कार्यालयमा समेत दर्ता भई कानूनी रुपमा सञ्चालन भएको बताइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी नगरपालिका ३ का वडाध्यक्ष राज घिमिरेले तन मन वचन र कर्मबाट आश्रम सहयोगमा साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मामाघर अनाथालय आश्रमले धेरैलाई सहारा दिएकाले यसका सकारात्मक पाटोहरुलाई हेर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आश्रम सञ्चालनका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने उद्घोष समेत गर्नुभएको छ । आफ्नै वडामा आश्रमको भवन बन्न लागेकाले यसको भवन निर्माणमा आफ्नो तर्फबाट सबैले सहयोग गर्न आग्रह गर्दै उहाँले आफ्ना बालबालिका हुर्काउन समस्या पर्न थालेको यो परिस्थितिमा विभिन्न जिल्ला र समुदायका बालबालिकाको जिम्मा लिएर कार्य गर्नु चानचुने नभएको उल्लेख गर्नुभयो ।
यस्तै वुद्ध माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रेमपति जोशीले आश्रमले गरेको पुणित कार्य अतुलनीय रहेको भन्दै आश्रमका ३४ जना बालबालिकालाई आफूले नि-शुल्क शिक्षा प्रदान गरिरहेको र आगामी दिनमा पनि आश्रमका बालबालिकाहरुलाई निशुल्क शिक्षा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले यसका परिकल्पनाकार तथा संकल्पकर्ता बाल योगेश्वर विजय कृष्ण मूर्ति जी महाराजको प्रशंसा गर्दै यस जुनीमात्रै नभएर सयौँ जुनीसम्मको लागि पुण्य हुने कार्य भएको बताउनुभयो । संस्थाले उत्कृष्ठ ढंगबाट बालमैत्री र पारिवारिक वातावरणमा बालबालिकाहरुलाई आश्रय दिएको भन्दै उहाँले यहाँका बालबालिकाहरु विद्यालयमा पनि सर्वोत्कृष्ठ रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका बाल कल्याण अधिकारी प्रेम कुमारी राईले मामाघर आश्रम विधि, विधान र कानूनी तवरबाट सञ्चालन भएको र नगरपालिकाबाट समय समयमा अनुगमन र सुझाव दिइरहेको बताउनुभयो । दिइएका सुझावहरुको पूर्ण पालन गर्ने र सबै कानून र मापदण्ड पुरा गरेका कारण आश्रमलाई सामाजिक दृष्टिकोणबाट पनि उत्तिकै महत्वका साथ हेरिएको उहाँको भनाई छ ।
कार्यक्रममा संस्थापक तथा संरक्षक बाल योगेश्वर विजय कृष्ण मूर्ति जी महाराजले प्रस्तुत गर्नुभएको सार्वजनिक लेखा परिक्षण प्रतिवेदन र आय व्यव विवरण सर्वसम्मत रुपले पारित भएको छ । कार्यक्रममा संस्थाका व्यवस्थापक, संस्थापक सदस्य, गोदावरी नगरपालिका कार्यालय, वडा नं १४ र वडा नं ३ का जनप्रतिनिधि, स्थानीय लगायतको समेत सहभागीता रहेको थियो भने आश्रमका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । २५ जना कर्मचारी रहेको आश्रममा स्वास्थ्य उपचार कक्ष, नृत्य तथा संगीत, खेलकुद, अतिरिक्त क्रियाकलाप लगायतका कार्यहरु समेत गर्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहाेस्