Breaking News: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता पोखरेल नियुक्त

काठमाण्डाै, २९ जेठ २०७८ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार बहुमतको आधारमा उहाँलाई शनिबार पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कृष्णचन्द्र नेपाली पोखरेललाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) गरी ३१ जनाले समर्थन गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले साथ नदिए पनि स्वतन्त्र प्रदेशसभा सदस्य राजिव गुरुङले विपक्षीलाई साथ दिएपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन बहुमत पुगेको हो । हिजो प्रदेशप्रमुख सीताकुमारी पौडेलले बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न २४ घण्टाको समय दिएलगत्तै विपक्षी गठबन्धनका ३१ जना नै उपस्थित भएर दाबी गरेका थिए ।

आज दिउँसो फेरि मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेपछि केहीबेर किचलो भएको थियो । विपक्षी दलका ३१ जना सांसदले प्रदेश प्रमुखको निवासमा धर्ना दिएका थिए । कांग्रेस र जनमोर्चाले केन्द्रमा जस्तै असंवैधानिक काम नगर्न प्रदेश प्रमुखलाई चेतावनी दिएका थिए ।

२००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा प्रजातन्त्र सेनानी हुन् । उहाँ पञ्चायतकालदेखि सक्रिय राजनीतिमा छन् । उहाँ २२ वर्षको उमेरमा नेपाली कांग्रेसबाट राजनीतिमा पाइला टेक्नु भएको थियो ।
आन्दोलनमा उनी ५–६ पटक जेल पनि परे । भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गर्नुभएको छ ।

कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बन्नु भएका उहाँ प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी विजयी हुनु भएको थियो । प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद छन् ।

याे सामग्री सेयर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार