आज एमालेले देशभर वडा अधिवेशन गर्दै, निर्वाचनमा विद्युतीय भोटिङ मेशिनकाे प्रयोग गरिने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौँ, ६ कात्तिक २०७८ ।

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ ।

एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ । एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार