कुश्मिसेरामा नेपाली कांग्रेसको जेष्ठ सदस्य सम्मान तथा चियापान कार्यक्रम सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २७ असोज २०७९ ।

नेपाली कांग्रेसले बागलुङको कुश्मिसेरामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस जैमिनी नगरपालिका १ नं वडा समितिको आयोजनामा क्रियाशिल जेष्ठ नागरिक सम्मान सहित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भएको हो ।

असोज १६ गते फुलपातीको दिन तय गरिएको चाडपर्वको अवसरमा गरिने शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीका कारण बुधबार गरिएको नेपाली कांग्रेस जैमिनी नगरपालिका १ नं वडा समितिका सभापति हरि प्रसाद शर्माले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सभापति जीत सेरचन, जिल्ला सचिव हरिहर शर्मा, आगामी निर्वाचनका लागि बागलुङको क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार डिल्लीराज सुवेदी, नेपाली कांग्रेसका नेता भिम श्रीस, ज्ञानु श्रीस शर्मा लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला सभापति जीत सेरचनले पार्टी भित्र तितामिठा कुरा जे भएपनि संगठनलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । देशको आवश्यकताले गठबन्धन गर्नुपरेको भन्दै उहाँले गठबन्धन हुँदा पार्टीका अब्बल नेता तथा कार्यकर्ताहरु पछि पर्नुपरे पनि परिस्थितिलाई बुझेर बिचलित नहुन आग्रह गर्नुभयो ।

हिजोका दिन अवलम्बन गरिएको सिद्धान्त अझैपनि कायम रहेकोले गठबन्धन गर्दैमा सिद्धान्त र विचार छोडिएको भन्ने नहुने उहाँको भनाई छ । इतिहासलाई समिक्षा गर्दै अगाडी बढ्नुपर्ने भन्दै उहाँले पहिले जस्तो कांग्रेस र कम्युनिष्ट भनेर शत्रुताको दृष्टीले नहेरी सबै मिलेर जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा शुभकामना दिँदै जिल्ला सचिव सचिव हरिहर शर्माले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरिएको र यसपटक पनि गठबन्धन गरेर चुनावी मैदानमा जाँदा जनताको उत्तिकै साथको आवश्यक पर्ने बताउनुभयो । अग्रजहरुले देखाएको बाटोलाई अवलम्बन गरेर आवश्यकताको आधारमा राजनीतिक परिवर्तन गर्नुपर्ने भन्दै उहाँले जनताको चाहना अनुसार स्थायी सरकारको परिकल्पना गरेर कांग्रेस अगाडी बढेको बताउनुभयो ।

यस्तै शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बागलुङको क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार डिल्लीराज सुवेदीले भोट हालेर पछुताउनुपर्ने अवस्था आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रदेश संरचनाको अभ्यास संविधानले व्याख्या गरे अनुरुप चल्न नसकेकाले जनता प्रति प्रदेशको औचित्य नदेखिएको जस्तो भएको भन्दै उहाँले केन्द्रमा रहेको अधिकार प्रदेशलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कतिपय प्रदेशका अधिकारहरु पनि संघमा नै राखिएको र संघीय सरकारले आवश्यक कानुन नबनाउँदा समस्या आएको उहाँको भनाई छ । जनतालाई प्रदेशको आभास हुनेगरी काम गर्ने प्रतिवद्धता गर्दै उहाँले युवा पुस्ता देखि पाका पुस्तासम्मले सहकार्य गरेर अगाडी बढ्दा अझ सहज हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता भिम श्रीसले पुराना कुरा गरेर अबको समय खेर फाल्नुभन्दा अबको बाटो कसरी तय गर्ने भन्नेतिर लाग्नुपर्ने बताउनुभयो । देशको अवस्था र आवश्यकताका आधारमा गठबन्धन र तालमेल हुने हुँदा सोहि अनुसार बुझेर अगाडी बढ्न उहाँको सुझाव छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले अहिलेको गठबन्धनको विषयलाई निकालेका थिए । यस्तै कार्यक्रमको अवसरमा ७० बर्ष पुरा भएका ३ जना क्रियाशिल सदस्यहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार