अपडेट: ग्यास लिक हुँदा मृत्यु हनेको सङख्या १३ पुग्यो, ८० को अवस्था चिन्ताजनक

भारतको आन्ध्र प्रदेश राज्यस्थित विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा कम्तीमा १३ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ।

सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र ३०० भन्दा बढी मानिस अस्पतालमा भर्ना भएको बताइएको छ।

प्रहरीले आसपासका इलाकाबाट सैयौँ मानिसलाई सुरक्षित स्थानमा लगिएको जनाएको छ।

दुर्घटनाबाट प्रभावित धेरैले आँखा पोलेको र सास फेर्न गाह्रो भएको बताएका छन्।

स्थानीय समय अनुसार बिहान ३ बजे एक पोलिमर फ्याक्ट्रीमा दुर्घटना भएको थियो।

बीबीसी हिन्दीका अनुसार ८० जनाभन्दा बढीलाई भेन्टीलेटरमा राखिएको छ।

आन्ध्र प्रदेश प्रदूषण नियन्त्रण बोर्डका वरिष्ठ अधिकारी राजेन्द्र रेड्डीले बीबीसी तेलुगुका सतिश बल्लालाई बताएअनुसार चुहिएको ग्यास स्टाइरिन हो। यो ग्यास सामान्यतः रेफ्रिजरेटरमा राख्ने गरिन्छ।

कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै लगाइएको लकडाउनका कारण २४ मार्चपछि पहिलो पटक यो उद्योग खोलिएका बेला दुर्घटना भएको जनाइएको छ।

अधिकारीहरूले दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको बताएका छन्।

ग्यास फैलिएपछि स्थानीय बासिन्दा आत्तिँदै घर बाहिर भागदौड गरेका थिए।
ग्यासको मुश्लो तीन किलोमिटर वरिपरिसम्म फैलिएको छ भने अधिकारीहरूले प्रभावित क्षेत्रबाट मानिसहरूलाई उद्धार गरेर अन्यत्र लान थालेका छन्।

एकजना वरिष्ठ जिल्ला अधिकारीले बीबीसीलाई बताए अनुसार ग्यास चुहावट रोक्ने प्रयत्न सफल हुन सकेको छैन। तर स्थानीय समाचार एजेन्सीहरूले अहिले परिस्थिति नियन्त्रणमा रहेको जनाएका छन्।

अधिकारीहरूले मानिसहरूलाई भिजेको कपडाले आफ्नो अनुहार छोपेर आफूलाई सुरक्षित पार्न भनेका छन्।

भारतमा पटक पटक यस किसिमका ग्यास चुहावटका दुर्घटना हुने गरेको इतिहास छ।सन् १९८४ मा भोपालमा भएको रासायनिक पदार्थ चुहावटका कारण हजारौँ मानिसको ज्यान गएको थियो। त्यसलाई संसारकै ठूलो औद्योगिक दुर्घटना भन्ने गरिएको छ।

दुर्घटना भएको ३५ वर्षपछि पनि त्यहाँ अझै सोही दुर्घटनाको असरका कारण अपाङ्गता भएका बच्चाहरू जन्मिने गरेको पीडितहरूले बताउने गरेका छन्।

स्टाइरिन भनेको के हो र त्यसले मान्छेलाई कस्तो असर गर्छ ?

स्टाइरिन ग्यास रङ्विहीन अथवा हल्का पहेँलो हुन्छ। यो प्रज्ज्वलनशील हुन्छ। पोलिस्टिरिन प्लास्टिक र रेजिन बनाउन प्रयोग गरिन्छ। यी तत्वबाट खानेकुरा राख्ने भाँडाहरू, सामान पोको पार्न आवश्यक प्लाष्टिक, कृत्रिम मार्बल, भुईँमा ओच्छ्याउने बस्तु, फर्निचर लगायत बनाउन सकिन्छ।
स्टाइरिनयुक्त हावामा श्वासप्रश्वास गर्दा नाक र घाँटीमा खसखस हुने, खोकी लाग्ने दम आउने र फोक्सोमा पानी जम्न सक्छ।

यदि स्टाइरिनको मात्रा बढी भयो भने स्टाइरिन बिमारु हुन सक्छ जसमा टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता आउने, कमजोरी महसुस हुने थकाइ लाग्ने अचेत जस्तो हुने हुन्छ।

केहीलाई मुटुको चालमा अनियमितता हुन सक्छ र बेहोस पनि हुन सक्छ।केही अध्ययनले स्टाइरिन र रक्त क्यान्सरबीच सम्बन्ध हुनसक्ने जनाएका छन् तर त्यसको प्रमाणित अध्ययन निष्कर्षमा पुगेको छैन।

भारतको केमिकल प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्