अस्पतालमा रगत किन्नुपर्ने बाध्यता हट्याे, गण्डकी प्रदेशका बिरामीलाई सित्तैमा रगत दिइने

याे सामग्री सेअर गर्नुहाेस्

कास्की, २५ माघ २०७८ ।

अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको रु एक हजारसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका छन् ।

पोखराको रामघाटमा अवस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले सरकारी अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगतको रु ७०० र निजीका लागि रु एक हजार लिने गरेको छ । रक्तदाताले स्वेच्छिक दिएको रगतको शुल्क लिने नहुने र निःशुल्क हुनुपर्ने माग हुँदै आएकामा अब गण्डकी प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थामा उपचार गराइरहेका बिरामीलाई निःशुल्क रगत उपलब्ध हुने भएको हो । बिरामीले अब कुनै शुल्क तिर्न नपर्ने र सित्तैमा रगत दिने व्यवस्था सरकारले गरेको छ ।

आगामी फागुन १ गतेदेखि प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क गर्ने निर्णय प्रदेश सरकारले गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको ‘रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि २०७८’ सोमबारको मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने स्वास्थ्यमन्त्री मधु अधिकारीले बताउनुभयो ।

प्रदेश सरकारले यसअघि गत मङ्सिर ८ गते पहिलोपटक प्रदेश स्वास्थ्य नीति जारी गरेको थियो । सोही नीतिमा रहेर रगत निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको बताइन्छ । मन्त्री अधिकारीले भन्नुभयो, “स्वास्थ्य सेवा प्रवाहका क्रममा रगतको आवश्कता पर्ने बिरामी तथा दुर्घटनाका कारण रगत दिनुपर्ने व्यक्तिले आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा अब रगत निःशुल्क पाउनेछन् । यसबाट बिरामीको जीवन जोखिममा पर्ने अवस्था अन्त्य भई जनताको जीवनरक्षा गर्न सहयोग पुग्ने छ । निम्न आयस्तर भएका नागरिकलाई फाइदासमेत हुनेछ ।”

सरकारले रगत निःशुल्क गर्ने कार्यका लागि नेपाल रेडक्रस सोसाइटीसँग सम्झौताको तयारी गरेको छ । केही दिनमै हुने सम्झौतापछि सरकारको निर्णय कार्यान्वयनमा जानेछ । सर्वसाधारणले दान गरेको रगत प्रयोगशाला परीक्षणपछि रेडक्रसले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले बिरामीलाई उपलब्ध गराउँदै आएको छ ।

रक्तसञ्चार केन्द्रले सेवाशुल्कवापत बिरामीसँग लिँदै आएको रकम अब सबै प्रदेश सरकारले नै भुक्तानी गर्ने गरी सम्झौता हुने मन्त्री अधिकारीले बताउनुभयो । “रक्तसञ्चारले बिरामीसँग लिँदै आएको सबै रकम सरकारले भुक्तानी गरेर जनतालाई निःशुल्क उपलब्ध गराउने हो ।” मन्त्री अधिकारीले भन्नुभयो, “सो कार्यका लागि आवश्यक रकम सबै व्यवस्था गरिएको छ ।”

मन्त्रालयले रगत निःशुल्क गर्दा वार्षिक कति खर्च लाग्छ अहिल्यै यकिन नभए पनि प्रदेशका सबै जिल्लामा गरेर अनुमानित वार्षिक रु तीन करोड खर्च हुने जनाइएको छ । सरकारले बनाएको स्वास्थ्य नीतिको कार्यान्वयनका लागि रगत निःशुल्क गर्ने कार्यविधि बनाएर कार्यान्वयन गरिएको बताइन्छ । स्वास्थ्य नीतिमा निःशुल्क आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाको पहुँच बढाइने नीति अवलम्बन गर्ने उल्लेख छ ।

प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले आफूहरूले रगत निःशुल्क हुनुपर्दछ भनेर पहिलादेखि नै माग गरेको बताउँदै सरकारको निर्णयले गरिब विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिक बढी लाभान्वित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “रगत निःशुल्क हुनुपर्दछ भनेर केन्द्रबाट पहिलेदेखि नै माग गरेका थियौँ, रक्तदाताले पनि उठाउँदै आउनुभएको हो । हामीले रगत दिन्छौँ, रक्तसञ्चारले पैसा लिन्छ भन्ने भ्रम पनि रक्तदातामा थियो तर हामीले रगतको भन्दा पनि जाँचेको पैसा लिने गरेका हौँ । रगत चाहिने व्यक्तिलाई पैसा नचाहिने निर्णय धेरै राम्रो छ ।”

रक्तसञ्चार केन्द्रमा बार्षिक रु दुई करोड ६० लाख सेवा शुल्कवापत सङ्कलन हुने बताइन्छ । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी रगत खपत हुने गरेको छ । जिल्ला अस्पतालहरूबाट पोखराका अस्पतालमा बिरामी सिफारिस भएर आउने गरेकाले पनि गम्भीर र जटिल रोगका बिरामीको यहाँ उपचार हुने गरेको छ । गण्डकी प्रदेशमा दैनिक ७० देखि ८० पिन्ट रगतको माग हुने गरेको बताइन्छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार