कुश्मिसेरामा आयोजित दोश्रो जैमिनी महोत्सव सम्पन्न, भलिवल खेलको उपाधि हिल साइडको टिमलाई

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २ माघ २०७८ ।

कुश्मिसेरामा आयोजित दोश्रो जैमिनी महोत्सव समापन भएको छ । पुस २६ गतेदेखि बागलुङको जैमिनी नगरपालिका स्थित कुश्मिसेरामा सञ्चालित महोत्सव आइतबार समापन गरिएको हो ।

सहारा क्लव कुश्मिसेराको आयोजना तथा जैमिनी नगरपालिकाको बिशेष सहयोगमा भएको महोत्सव बढ्दो कोरोना महामारीलाई मध्यनजर गर्दै छिटो समापन गरिएको आयोजक सहारा क्लव कुश्मिसेराका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो । यसअघि पुस २६ गतेदेखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन गर्ने कार्यतालिका थियो । समापनको दिन महोत्सवमा भएका बिभिन्न प्रतियोगितातमक कार्यक्रमका बिजेता, सहयोगी लगाएतलाई पुरस्कार र मायाको चिनो प्रदान गरिएको छ ।

यस्तै महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको खुल्ला मेयर कप भलिवल प्रतियोगिताको उपाधि हिलसाइड निर्माण सेवा देवलधाराले जितेको छ । आइतबार भएको फाइनल खेलमा पर्वत स्पोर्टस् क्लवलाई हराउँदै हिल साइड निर्माण सेवाको टिम प्रथम भएको हो । बिजेताले एक लाख ५० हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगिताको द्वित्तीय पुरस्कार ८० हजार रुपैयाँ, तृतीय पुरस्कार ३० हजार रुपैयाँ र सान्तवना पुरस्कार २० हजार रुपैयाँ रहेको आयोजक सहारा क्लव कुश्मिसेराले जनाएको छ ।

महोत्सवकै अवसरमा ३५ हजार रुपैयाँ राशीको खुल्ला उप मेयर कप महिला भलिवल प्रतियोगिता पनि भएको थियो । प्रथम जैमिनी महोत्सवमा नभएको यो प्रतियोगिता यस बर्ष राखिएको क्लवका अध्यक्ष सुनारले जानकारी दिनुभयो । खुल्ला उप मेयर कप महिला भलिवल प्रतियोगिताको द्वित्तीय पुरस्कार १७ हजार, तृतीय पुरस्कार ८ हजार र सान्तवना पुरस्कार ५ हजार रुपैयाँ रहेको छ ।

महोत्सवको अवसरमा खुुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता, खुल्ला पुरुष बि लेभल ब्याडमिन्टन प्रतियोगिता, वडा स्तरीय रत्यौली प्रतियोगिता, वडा स्तरीय भजन प्रतियोगिता, माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, जैमिनी डान्स आईडल, कृषि उपज तथा पशु प्रदर्शनी, भजन, सोरठी, सालैजो, यानिमाया, झ्याउरे सहितको झाँकी, हस्तकला प्रदर्शनी रहेको थियो ।

“स्थानीय कला संस्कृति तथा खेलकुदको सम्वद्र्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवद्र्धन” भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुद्वारा दैनिक साँस्कृतिक प्रस्तुतिहरु भएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार