आईपीइलमा दिल्लीको लज्जास्पद हार ।

हाम्राेप्रयास । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

मंगलबार राती आइपिएलको ४७ औं सम्पन्न खेलमा दिल्ली हैदराबादसँग फराकिलो अन्तरले पराजित हुँदै दुई खेल अगावै प्ले अफमा पुग्ने अवसर गुमाउनुको साथै अंक तालिकामा तेस्रो स्थानमा झरेको छ । जितका लागि २ सय २० रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो । दिल्लीका विकेटकिपर ऋषभ पन्तले ३५ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३६ रनको योगदान दिए ।

दिल्लीले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । पहिलो ओभरको तेस्रो बलमै सन्दीप शर्माले ओपनर शिखर धवनलाई डेभिड वार्नरबाट शून्यमा क्याच आउट गराए । दोस्रो ओभरको अन्तिम बलमा मार्कस स्टोइनिस पाँच रनमा क्याच आउट हुन पुगे । स्टोइनिसलाई शहबाज नदीमले वार्नरबाटै क्याच आउट गराएका थिए । सातौं ओभरको पहिलो बलमा राशिद खानले शिम्रन हेटमायरलाई १६ रनमा बोल्ड आउट गरे । चार बलपछि अजिंक्या रहाणे २६ रनमा एलबिडब्लू आउट गरेपछि दिल्लीको जित कठिन बनेको थियो । रहाणेले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

विजय शंकरले १२ औं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐरलाई ७ रनमा केन विलियम्सनबाट क्याच आउट गराए । १३ औं ओभरको पाँचौ बलमा अक्षर पटेल १ रनमा क्याच आउट हुँदा दिल्ली ८३–६ को कमजोर अवस्थानमा पुगेपछि जितको आशा पनि टाढिएको थियो । टि नटराजनले कागिसो रबाडालाई ३ रनमा बोल्ड आउट गरे । तुषार देशपान्डेले ९ बलमा २ चौका र १ छक्का सहित २० रन जोड्दै हारको अन्तर घटाए ।

राशिद खानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । टि नटराजनले २, विजय शंकर, शहबाज नदीम र जेसन होल्डरले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा २ विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो । हैदराबादका विकेटकिपर समेत रहेका शाहले ४५ बलमा १२ चौका र २ छक्का सहित सर्वाधिक ८७ रनको महत्वपूर्ण योगदान दिए । ओपनर जोनी बेयरस्टोलाई बेन्चमा राख्दै आज हैदराबादले शाहलाई खेलाउने निर्णय लिएको थियो । जुन निर्णयलाई शाहले सहि सावित गरे । कप्तान डेभिड वार्नरले ३४ बलमा ८ चौका र २ छक्का सहित ६६ रनको आक्रामक इनिङ खेले ।

हैदराबादलाई ओपनर वार्नर र शाहले उत्कृष्ट सुरुवात दिलाएका थिए । जारी सिजनको आइपिएलमा पावर प्लेकै सर्वाधिक रन बनाउने क्रममा हैदराबादले कुनै विकेट नगुमाई ७७ रन जोडेका थिए । पहिलो विकेटका लागि वार्नर र शाहले ९.४ ओभरमा १ सय ७ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी स्पिनर रविचन्द्रन वाश्विनले अक्षर पटेलबाट वार्नरलाई क्याच गराउँदै तोडेका थिए ।

१५ औं ओभरको तेस्रो बलमा एनरिच नोर्कियाको बलमा ठूलो सट खेल्ने धुनमा मिड अफमा कप्तान श्रेयस ऐरबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए । दोस्रो विकेटका लागि मनिष पान्डे र शाहले ६३ रनको साझेदारी गरेका थिए । मनिष ३१ बलमा ४ चौका र १ छक्का सहित ४४ रनमा अविजित रहे । केन विलियम्सन १० बलमा १ चौका सहित ११ रनमा अविजित रहे ।

एनरिच नोर्कियाले ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जारी सिजनमा उत्कृष्ट प्रर्दशन गरेका कागिसो रबाडाको प्रर्दशन भने सम्झन लायक रहेन । रबाडाले ४ ओभरमा ५४ रन खर्चिदै विकेट लिन सकेनन् । रबाडा २६ टि२० खेल पछि पहिलो पटक विकेट बिहिन बन्न पुगेका हुन् । दिल्लीले अब शनिबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । हैदराबादले शनिबारनै रायल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ ।

आइपिएलको अंक तालिका

मुम्बई ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर ११ खेलमा ७ मा जित र ४ मा हार सहित दोस्रो स्थानमा उक्लिएको छ । यो हारसँगै दिल्ली क्यापिटल्स १२ खेलमा ७ मा जित र ५ मा हार तेस्रो स्थानमा झरेको छ । पन्जाब १२ खेलमा ६ मा हार र ६ मा जित सहित १० अंक जोड्दै चौथो स्थानमा छ ।

कोलकाता १२ खेलमा ६ मा जित र ६ मा हार सहित पाँचौ स्थानमा छ । सनराइजर्स हैदराबाद १२ खेलमा ७ मा हार र ५ मा जित सहित छैटौं स्थानमा उक्लिएको छ । राजस्थान १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स १२ खेलमा ८ मा हार र ४ मा जित सहित पुछारमा रहेको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे पनि पढ्नुहाेस्

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्