चितवन, २० फागुन २०७७ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन सक्ने बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले भन्नुभयो, “काँग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा काँग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ । यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यस सम्बन्धमा छलफल हुन्छ ।”
प्रधानमन्त्री बन्न काँग्रेस सभापति शेरबहादुर देउवालाई सजिलो नभएको जनाउँदै उहाँले प्रधानमन्त्री हुनबाट उहाँलाई रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ भन्नेबारे छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “अहिलेको स्थिति नाजुक छ, सङ्कटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने ? काँग्रेसबाहेक अरुले भूमिका खेल्न सक्ने हैसियत मैले देखेको छैन ।”
पार्टीको आज हुने पदाधिकारी बैठकमा आफूले केन्द्रीय समितिको बैठक माग गर्ने जनाउँदै उहाँले नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने अवस्था देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारमा किन जाने, कसरी जाने, के रुपमा जाने भन्ने कुराहरु छलफल गर्छाैँ ।” एक प्रश्नका जवाफमा अहिलेको ‘भद्रगोल राजनीति’ काँग्रेसले सम्हाल्नुपर्ने बताउँदै उहाँले भारत, चीन र अमेरिकालार्ई सुविधा हुने गरी नभई नेपालको प्रणालीलाई सुविधाजनक हुनेगरी सरकार बन्नुपर्ने बताउनुभयो ।
उहाँले व्यवस्था प्रभावित गर्ने गरी आफूलाई कुनै पद नचाहिएको र अहिलेकै अवस्थाको राष्ट्रपति पद पनि आफूलाई कहिल्यै नचाहिने बताउनुभयो । आफू बाँचुञ्जेल क्रियाशील भूमिकामा रहने पौडेलको भनाइ थियो ।
यस्तै नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन ।”
फरक प्रसङ्गमा उहाँले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै सरकारमा जानुपरेमा आफ्नै नेतृत्वमा मात्रै जाने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो,“हाम्रो उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ ।” सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकारमा जाने उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विधिवत् रुपमा एकै भएकाले अहिले नै कांग्रेसले धारणा बनाउने बेला नभएको डा महतको भनाइ थियो ।
प्रतिक्रिया दिनुहाेस्