बागलुङ, २४ फागुन २०७७ ।
बागलुङको जैमिनी नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । १ सय ११ औँ नारी दिवसको अवसरमा जैमिनी नगरपालिकको केन्द्र कुश्मिसेरामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
“महिलाको सुरक्षा, सम्मान र रोजगारको लागि स्थानीय तहको भुमिका” बिषयक वक्तृत्वकला प्रतियोगितामा जैमिनी नगरपालिका १ की अमृता पौडेल प्रथम, जैमिनी नगरपालिका १० राखानीकी यलु थापा द्धित्तीय र जैमिनी नगरपालिका ६ अर्जेवाकी निर्मला केसी तृतीय हुनुभएको नगरपालिकाले जनाएको छ ।
१५ जनाको सहभागिता रहेको कार्यक्रममा प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार ५ सय रुपैयाँ र तेश्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले महिलाहरु अगाडि नआएसम्म अधिकार प्राप्त नहुने बताउनुभएको छ । महिलाहरुको लागि राज्यले संविधानमा उल्लेख गरेका हक अधिकार प्रयाप्त भएतापनि व्यवहारिक रुपमा त्यस्तो नपाइएको उहाँको भनाई छ ।
कार्यक्रममा सहभागीहरुले महिलाहरुको सम्मान र रोजगारको लागि स्थानिय तहहरुले महिलामैत्री कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका थिए ।
प्रतियोगितामा सहभागी भएकाहरुले महिला प्रति महिलाकै दृष्टिकोण बदलिनुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहाेस्