धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर एमालेको बोर्ड राखियो, यस अघिकाे नेकपा अब नेकपा रहेन

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौँ, २५ फागुन २०७७ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि धूम्रबाराहीस्थित एमाले पार्टी कार्यालयमा साइनबोर्ड फेरिएको छ ।

अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि आआफ्ना पार्टी कार्यालयमा साइनबोर्ड राख्ने क्रम बढ्दै छ ।

एकीकरणपूर्व एमाले केन्द्रीय कार्यालय धूम्रबाराही र माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा थिए । विसं २०७५ जेठ ३ गते एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालयको साइनबोर्ड राखिएको थियो । धूम्रबाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड आज फेरिएकोे कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अदालतको आदेश कार्यान्वयनका लागि पार्टीको कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिएको हो । देशभर धेरै ठाउँमा राखिसकिएको र बाँकी ठाउँमा पनि छिट्टै राखिने तयारी छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भई सोही साल जेठ २३ गते निर्वाचन आयोगमा नयाँ नाम दर्ता भएको थियो । त्यसअघि नै आयोगमा ऋषिराम कट्टेल अध्यक्ष रहेको ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने भनी सर्वोच्च अदालतले यही फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार