जुम्ला, ५ माघ २०७७ ।
नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै प्राधिकरणकाे जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ हाे ।
टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।
यसैगरी विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने सूचना प्राधिकरण जुम्लाले निकालेको छ ।
सूचनामा लेखिएअनुसार हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने छ । पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने प्राधिकरणले जनाएको छ ।
जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली छैन । जुम्लावासीले स्थानीय साना जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बाल्दै आएका छन् ।
प्रतिक्रिया दिनुहाेस्