असुरक्षित बन्दै काँक्रेविहारका जनावर, वन क्षेत्रमा पर्याप्त चरिचरनको व्यवस्था गरिएन

याे सामग्री सेअर गर्नुहाेस्

कर्णाली, ६  माघ २०७७ ।

सुर्खेतको बुलबुले तालमा आइतबार बिहान घाइते अवस्थामा जरायो फेला प¥यो । वीरेन्द्रनगर–९ स्थित काँक्रेविहार वन क्षेत्रमा बासस्थान रहेको जरायो तालमा फसेको सूचना पाउने बित्तिकै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले जीवित अवस्थामै उद्धार गर्न त सफल भयो तर जरायो बाँचेन । उपचारकै क्रममा सोमबार साँझ उक्त जरायोको मृत्यु भयो ।

पछिल्लो यो घटना मात्र होइन, काँक्रेविहार क्षेत्रका जरायोहरु मृत वा घाइते अवस्थामा भेटिनु सामान्यजस्तै बनेको छ । यस वर्ष वैशाखयता एक मृत र चार जरायो घाइते अवस्थामा फेला परिसकेका छन् । वीरेन्द्रनगर–९ लाटीकोइलीका स्थानीय केशव कोइरालाले दुर्लभ जनावर जरायो दैनिक आक्रमणमा परिरहँदा सम्बन्धित निकायले संरक्षणमा बेवास्ता गरेको आरोप लगाउनुभयो । “काँक्रेविहारजस्तो संरक्षित वन क्षेत्रभित्रै जरायो, मृगलगायतका जनावर असुरक्षित बन्नुपर्ने अवस्थाप्रति सम्बन्धित निकायले कानमा तेल हालेर बसेका छन्”, उहाँले भन्नुभयो, “डिभिजन वन कार्यालयले यसको संरक्षणमा बेवास्ता गर्दा चोरी शिकारी बढ्यो, वन क्षेत्रमा पर्याप्त चरिचरनको व्यवस्था गरिएन ।”

एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको काँक्रेविहार नेपालकै पहिलो संरक्षित वन क्षेत्रमा पर्दछ । यहाँ जरायो, मृग, बँदेललगायतका दुर्लभ वन्यजन्तुको बसोवास छ । चारैतिर बस्तीले घेरिएको काँक्रेविहार वन क्षेत्रमा अचेल काठ तस्करदेखि वन्यजन्तुको शिकारी गर्नेहरुको नजर पर्ने गरेको स्थानीय बताउँछन् । स्थानीयवासीका अनुसार सङ्गठित भएर चोरी शिकारी गर्नेले कुकुरसम्म प्रयोग गरेर जरायोलाई मार्ने गरेको पाइएको छ । जरायो वन क्षेत्र बाहिर निस्किँदा शिकार गर्ने समूहको नियन्त्रणमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले वन क्षेत्रभित्र चरिचरनको कमी, खानेपानी नपाउनुजस्ता कारणले जरायो आफँै बस्तीमा निस्कने गरेको बताउनुभयो । “काँक्रेविहार वन क्षेत्रमा पानीका पोखरी छैनन्, पानी नपाउँदा प्यास मेट्न जनावर पानी खोज्दै बस्तीमा प्रवेश गर्छन्, त्यस्तो अवस्थामा स्थानीयवासीको आक्रमणमा पर्ने गरेको देखिएको छ”, उहाँले भन्नुभयो, “वन क्षेत्रमा क्षमताभन्दा बढी जनावर हुँदा चरिचरन क्षेत्रको कमी हुनपुग्यो, पानीपोखरी नहुँदा वन क्षेत्र बाहिर निस्कनुपर्ने बाध्यता आएको हो ।” लाटीकोइलीका युवाहरुले गत साउनमा व्यक्तिगत लगानीमा वन्यजन्तुको चरिचरनका लागि घाँस रोपेका थिए ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने