ढोरपाटन आरक्षमा याे बर्षकाे सिकार खुला, नाउर र झारल सिकार गर्न पाइने

याे सामग्री सेअर गर्नुहाेस्

तारानाथ आचार्य
बागलुङ (बलेवा), २ कात्तिक २०७८ ।

ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । आजदेखि जङ्गली जनावर नाउर र झारल सिकार गर्न खुल्ला गरिएको सिकार आरक्ष कार्यालयले जनाएको छ ।

नेपालको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटनमा अनुमति लिएर सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउने गर्दछन् । आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र सिकारीका भरियाको बन्दोबस्ती मिलाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकारयामका लागि १० नाउर र ६ झारलको सिकार अनुमति दिएको छ । सोही अनुसार विदेशी सिकारी आरक्ष क्षेत्रमा पुगेका हुन् । आगामी कात्तिक २ गतेदेखि मङ्सिरसम्म सिकार पर्यटन जारी रहनेछ । विभागले हरेक वर्ष दुई याम गरी वार्षिक २० नाउर र ११ झारलको सिकार गर्न अनुमति दिने गर्छ ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्र्याक एन्ड टे«ल्स कम्पनीमार्फत फ्रेन्च, युक्रेन, मेक्सिकन र रुसी सिकारीले नाउर र झारल सिकारका लागि अनुमति पाएका छन् ।

पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार हुनेछ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख० मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिनुभयो ।

पेसेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गर्छन् । गत वर्ष दुई याममा १८ नाउर र नौ झारलको सिकार भएको थियो ।आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी सात ‘ब्लक’ मा सिकार खेल्न अनुमति दिने गरिएको छ । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्छन् । सिकारीसहितको टोलीले १५ दिन जङ्गलमै समय बिताउँछन् ।

सो विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एकजना सिकारीले करिब रु. २० देखि २२ लाख खर्च गर्ने सिकार पर्यटन व्यवसायी अमृत थापाले जानकारी दिनुभयो । सिकार पर्यटनलाई पनि कोरोनाले असर गरेको छ । नेपालमा कोरोनाको त्रासले गर्दा विगतमा जस्तो प्रतिस्पर्धा नभएको र जति धेरै सिकारीको आउने इच्छा गर्दछन्, त्यति नै राजस्व सङ्कलन हुने उहाँले बताउनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने