काठमाडौमा बृहत ट्याक्सी र्‍याली सम्पन्न, सयाैँ ट्याक्सीकाे सहभागी

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
काठमाडौ, २६ असार २०८१ ।

काठमाडौमा बृहत ट्याक्सी र्‍याली सम्पन्न भएको छ । हिजो (सोमबार) बृहत ट्याक्सी र्‍याली सम्पन्न भएको हो ।

मानव सेवा फाउण्डेशनले आयोजना गरेको ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको अवसरमा ट्याक्सी र्‍यालीको आयोजना गरिएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । पशुपति कोटीहोमको बारे सबैलाई जानकारी दिन र शान्तिको सन्देश फैलाउन र्‍यालीको आयोजना गरिएको बताइएको छ ।

बिहान ११ बजे पशुपतिनाथ मन्दिरबाट ट्याक्सी र्‍याली सुरु भएर चक्रपथ परिक्रमा गरिएको थियो । र्‍यालीमा करिव ५ सय वटा ट्याक्सी समावेश भएका थिए । यसअघि मोटरसाइकल र्‍याली सम्पन्न भैसकेकोमा अब असार २६ गते रिक्सा र्‍याली र असार ३० गते साइकल र्‍यालीको आयोजना गरिएको छ ।

साउन १ गतेदेखि ३२ गतेसम्म पशु्पति मन्दिर क्षेत्रको हंशमण्डप वनकालीमा हुने कोटीहोममा असार २२ गतेबाट विभिन्न कार्यक्रम थालिएको भएपनि महायज्ञको उद्घाटन भने साउन १ गते हुनेछ । साउन महिनामा पशुपति मन्दिरमा भक्तजनहरुको उल्लेख्य उपस्थिति हुने र सोहि समयमा युगमा एकपटक हुने बृहत कोटीहोमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने आयोजकले जनाएको छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गर्ने छन् ।

ललितपुरको बाडेगाउँमा सञ्चालित मामाघर अनाथालय आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना हुन लागेको बताइएको छ । मानवसेवा फाउण्डेसन अन्तर्गत नै अहिले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन् । मामाघर आश्रममा देशका विभिन्न स्थानका करिब ८३ जना अभिभावक विहीन बालबालिकाले निःशुल्क रुपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएका छन् । त्यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पनि दर्जनबढी बेसहारा आमावुवाले आश्रय प्राप्त गर्दै आएका छन् । हाल दुवै आश्रम भाडाको घरबाट सञ्चालन भइरहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार