बाग्लुङ, १३ माघ २०७७ ।
बाग्लुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौं चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बाग्लुङको बलेवामा रहेकाे नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको हाे ।
जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बाग्लुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ ।हात्तीपाइले रोग निवारणका लागि अहिले गरिएको चौथो पटकको नमुना परीक्षणमा नारायणस्थानमा आठ र जैमिनीको कुश्मिशेरामा दुई जनामा हात्तीपाइलेको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।
नारायणस्थानमा यसअघि पनि हात्तीपाइले भइसकेका तीन जनालाई समेत पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ ।चौथो पटकको नमुना परीक्षणमा समेत हात्तीपाइलेको जीवाणु फेला परेकाले बाग्लुङमा हात्तीपाइले निवारण निकै चुनौतीपूर्ण रहेको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौँले जानकारी दिनुभयो ।
नारायणस्थानमा ३०० र कुश्मिसेरामा ३०० जनामा हात्तीपाइलेको जीवाणु परीक्षण गरिएको थियो । दुवै ठाउँमा हात्तीपाइलेको जीवाणु फेला परेसँगै यो वर्ष १२ औँ पटक र आउँदाे वर्ष १३ औँ पटकको अभियान जिल्लाभर चलाउनु पर्ने देखिएको गुरौँको भनाइ छ ।
हात्तीपाइले रोगबाट बच्न सामान्यतया लगातार छ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खानुपर्छ तर बाग्लुङमा १३ औँ पटकसम्म अभियान चलाउनपर्ने भएको हो । नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भए पनि बाग्लुङ जिल्लासहित नेपालका सात जिल्लामा अहिलेसम्म हात्तीपाइले रोग निवारण गर्न नसकिएको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका सुपरभाइजर सरोज अधिकारीले बताउनुभयो ।
‘पाँच वर्ष लगातार औषधि खुवाइसकेपछि नमुना परीक्षण हुन्छ, नमुना परीक्षणमा जीवाणु फेला नपरे छैठाैँ पटक खुवाएर अभियान सफल पारिन्छ’, अधिकारीले भन्नुभयो ‘नमुना परीक्षणमा जम्मा नमुना सङ्ख्याको दुई प्रतिशतभन्दा कम पोजेटिभ आएमा निवारण हुन्छ, नत्र दुई वर्ष लम्बिन्छ ।’ बाग्लुङमा चौथो पटकसम्मको नमुना परीक्षण गर्दासमेत पोजेटिभ आएको हो ।
जिल्लाको बाग्लुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तीपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आएको हो । अहिले पुनः जैमिनी नगरपालिका–१ कुस्मिशेरामा समेत हात्तीपाइलेको जीवाणु फेला परेको छ ।
सङ्क्रमण दुई प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याको रूपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बाग्लुङमा थप दुई वर्ष हात्तीपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको हो ।
हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तररूपमा अभियान चलाइराख्नु परेको हो । स्वास्थ्य कार्यालयले अहिले नारायणस्थानका घर–घरमा महिला स्वास्थ्य स्वयम्सेवी परिचालन गरी हात्तीपाइलेको लक्षण भए नभएको जानकारी लिने, सचेतना गराउने जस्ता कार्यसमेत गर्न थालिएको छ ।
विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तीपाइले आफूले मात्र औषधि खाएर जोखिमबाट पूर्णरूपमा बच्न सकिँदैन । अरु कसैलाई हात्तीपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तीपाइले हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन् ।
प्रतिक्रिया दिनुहाेस्