काँग्रेस पदाधिकारी बैठक बस्दै, प्रदेशसभा सदस्य वैद्यलाई आत्मालोचना गर्न निर्देशन

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौँ, २९ जेठ २०७८ ।

नेपाली काँग्रेसले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा २ः०० बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत आगामी असारदेखि विभिन्न तहका अधिवेशनको मिति तय गरिसकेको र अझै केही जिल्ला तथा क्षेत्रको क्रियाशील सदस्यता विवरण टुङ्गिनसकेको कारण बैठकमा सो बारेमा छलफल हुनेछ । यही जेठ २५ गतेसम्म कांग्रेसको वेबसाइटमा जम्मा आठ लाख ३१७ क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ भइसकेको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो ।

अब सप्तरी र सिन्धुपाल्चोकको पूरै तथा बाराका केही क्रियाशील सदस्यता विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । त्यसमध्ये सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले भने आज विवरण पेश गर्ने पार्टी कार्यालयले जनाएको छ । पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरण बुझाउन बाँकी जिल्ला र क्षेत्रका लागि अतिरिक्त समय थप गर्ने बारेमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले १४औँ महाधिवेशनका लागि पार्टीको गाउँ÷नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते तोकेको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने तालिका निर्धारण गरेको छ ।

बैठकमा काँग्रेससहित विपक्षी दलको गठबन्धनले हाल विभिन्न प्रदेशमा प्रदेश सरकार पुनर्गठनका लागि गरेका प्रयासलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रदेशसभा सदस्य वैद्यलाई आत्मालोचना गर्न निर्देशन

नेपाली काँग्रेसले पार्टीको वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षणलगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ । पार्टीले आज विज्ञप्तिमार्फत प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी नै पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेतसमेत गराइएको जनाइएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन भन्ने प्रष्ट रहेको उल्लेख गर्दै आलोचना लोकतान्त्रिक हक भए पनि त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन नमिल्ने बताउनुभएको छ ।

शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने विज्ञप्तिमा उल्लेख छ । हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको प्रवक्ता शर्माले उल्लेख गर्नुभएको छ ।

पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोहीबमोजिम आफूलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने विषयमा काँग्रेस प्रष्ट रहेको विज्ञप्तिमा जनाइएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने