बागलुङ, १ पुस २०७८ ।
पुस २ गते कुश्मिसेरा उपल्लोबजारको बाटो बन्द हुने भएको छ । जैमिनी नगरपालिका वडा नं. १ स्थित कुश्मिसेराको उपल्लो बजारको सडक कालोपत्रे गर्न सुरु भएकाले बाटो बन्द गर्न लागिएको हो ।
पुस २ गते शुक्रबार बिहान साँढे १० बजेदेखि दिउँसो साँढे ४ बजेसम्म बाटो बन्द गरिने जैमिनी नगरपालिकाका ईन्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो ।
बाटो बन्द हुँदा कुश्मिसेरा हेल्थ सेन्टर हुँदै सामरुम्टा ठाडाखेतबाट कुश्मिसेरा उपल्लो बजारको छेउ निस्कने बैकल्पिक बाटो प्रयोग गर्न सकिने उहाँको भनाई छ ।
जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा उपल्लोबजारमा अहलिे कालोपत्रे गर्ने काम सुरु भएको छ । बिएमए निर्माण सेवाले ५२ लाखमा ठेक्का पाएकोे कुश्मिसेरा उपल्लोबजारको सडक अहिले कालोपत्रेको काम सुरु भएको जैमिनी नगरपालिकाका ईन्जिनियर सापकोटाले बताउनुभयो । केहि मिटर ढलान सहित ३ सय ८० मिटर बाटो पक्की बनाउने गरी ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले अहिले धमाधम ग्राभेल बिछ्याउन सुरु गरेको छ ।
“उपल्लो बजारको पल्लो छेउमा थोरै काम बाहेक भौतिक काम पुरा भैसकेको छ, ठेकेदारले निरन्तर काम गरे धेरै समय लाग्दैन” उहाँले जिल्लाखबर डटकमसँग भन्नुभयो “अहिले ग्राभेल बिछ्याएर पेल्ने काम भैरहेको छ, अब छिटै कालोपत्रे गर्न सुरु हुन्छ ।” कालोपत्रेको लागि सामग्रीहरु ल्याउने काम भैरहेको र छिटै कालोपत्रे गरिने निर्माणको जिम्मा पाएको बिएमए निर्माण सेवाले जनाएको छ ।
गत असार मसान्तसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएपनि कोरोना र विविध कारणवश असार मसान्तमा काम नसकिएपछि आगामी पुस मसान्तसम्मको लागि म्याद थप गरिएको ईन्जिनियर सापकोटाले बताउनुभयो । कम्पनीले असार मसान्तसम्म २७ लाख भुक्तानी लगिसकेको थियो ।
प्रतिक्रिया दिनुहाेस्