बाढीपहिरोमा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना, पुनर्निर्माणका लागि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डौ, १९ असाेज २०८१ ।

अघिल्लो हप्ताको बाढीपहिरो र डुबानमा परी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुगेको छ । अझै १८ जनाको अवस्था थाहा हुन सकेको छैन । बेपत्ता उनीहरुको निरन्तर खोजी भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिनुभयो । विपद्का कारण एक सय ७८ जना घाइते भएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ । राहत तथा सहायता परिचालन र अवरुद्ध सडक खुलाउने गरी काम भइरहेको गृह प्रवक्ता तिवारीले बताउनुभयो ।

यता भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले हालै गएको बाढीपहिरोबाट भएको क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको हिजाे बसेको बैठकमा बोल्दै उहाँले व्यक्तिका घर तथा सार्वजनिक सडकमा पुगेको क्षति पुनर्निर्माणका लागि २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताउनुभयो ।

मन्त्री दाहालले बाढी पहिरोका कारण अवरुद्ध भएका राजमार्ग खुलाउन काम तीव्ररुपमा भइरहेको र यसका लागि भाडामा निजी निर्माण उपकरण लिएर समेत काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले हवाई जहाज कम्पनीले अत्याधिक भाडा लिएको गुनासो आएको र त्यसो नगर्न आग्रह गरेको बताउनुभयो । बैठकमा सांसद्हरुले छिटोभन्दा छिटो राजमार्ग खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

पहिरो पीडितको पीडाः न आफन्त छन्, न दशैँ आएको रौनक

पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर