काठमाडाैं । च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग लज्जास्पद हार व्यहाेरेपछि बार्सिलाेनाका डिफेन्डर जेरार्ड पिकेले क्लबमा परिवर्तनकाे खाँचाे भएका प्रतिक्रिया दिएका छन् ।
३३ वर्षीय पिके १२ वर्षदेखि बार्सिलाेनामा आवद्ध छन् । उनले २० ओटा प्रमुख उपाधि पनि जितिसकेका छन् । उनले क्लबले आवश्यक परिवर्तन गर्न नसकेमा बार्सिलाेना छाेड्ने पहिलाे खेलाडी आफू हुने पनि बताएका छन् ।
बार्सिलाेनाले च्याम्पियन्स लिगकाे क्वार्टरफाइनल खेलमा शुक्रबार राति लज्जास्पद हार व्यहाेरेकाे हाे । बार्सिलाेना बायर्न म्युनिखसँग ८–२ गाेल अन्तरले पराजित भयाे ।
पिकेले बार्सिलाेना सही दिशामा नरहेकाे पनि बताएका छन् । उनले भनेका छन् ‘यो पहिलो पटक होइन, दोस्रो पनि होइन र तेस्रो पटक पनि होइन । हामी सही दिशामा छैनौँ ।’
उनले क्लब प्रतिस्पर्धी बनाउनका लागि प्रशिक्षक र खेलाडीले एक अर्कालाई पछ्याउनु पर्नेमा अहिले यस्ताे अवस्था नदेखिएकाे पनि बताएका छन् ।
उनले भनेका छन्, ‘क्लबमा परिवर्तनको खाँचो छ । खेलाडी वा प्रशिक्षकको तहमा मात्र हाेइन बार्सिलोनामा सबै तहमा संरचनागत परिवर्तन चाहिएको छ ।’
प्रतिक्रिया दिनुहाेस्