जैमिनीको सार्वजनिक सुनुवाई सम्पन्न, सकारात्मक कुरामा नगरको जोड- जनताका गुनासो बढी

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, १४ असोज २०७८ ।

बागलुङको जैमिनी नगरपालिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७७।७८ मा सम्पन्न भएका काम र सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकामा पहिलोपटक भएको सार्वजनिक सुनुवाईमा जनताहरुले योजना र सेवा प्रवाहका सन्दर्भमा गुनासा आएका थिए । स्थानीय तह आइसकेपछि जनताको मर्म र भावनालाई बुझेर काम हुनुपर्ने आशा भएपनि हुँदै गरेका कामहरुको समेत गुणस्तरीयता नभएको तथा पुराना योजनाहरु पनि स्थानीय तह आएपछि ओझेलमा परेको सहभागिहरुले गुनासो गरेका छन् ।

जैमिनी नगरपालिका २ का आनन्द अम्माईले स्थानीय तह हुनुभन्दा अगाडि जैमिनी २ र ३ साविक दमेक गाविसमा अलैँची पकेट कार्यक्रम बनाएर सयौा कृषकले अलैँची लगाएकोमा स्थानीय सरकारले त्यो कार्यक्रम काटेर कृषकहरुको अहितमा काम गरेको गुनासो गर्नुभयो । कार्यक्रमको आशमा सयौँ कृषकले लगाएका अलैँची चालु भएको पकेट कार्यक्रम काटिँदा अब के हुने भन्ने अन्यौलतामा भएको उहाँको भनाई छ ।

जैमिनी नगरपालिकाका कृषि शाखा प्रमुख नेत्र आचार्यले स्थानीय तहमा आएपछि कार्यपालिकाले निर्णय गरेर कार्यक्रम लागु गर्नुपर्नेमा त्यो नभएको बताउनुभयो । ८ वटा पकेट भएको र १० वटा वडा भएकाले कतिपय लागु भएका पकेटका कार्यक्रमहरु काटिएको उहाँको भनाई छ ।

कार्यक्रममा सडकको गुणस्तर देखि नगरपालिकाको सेवा प्रवाहको सन्दर्भमा समेत प्रश्न उठेका थिए । स्थानीय छायादत्त चापागाईँले नगरपालिकाले रोजगारी सिर्जनामा ध्यान नदिएको र सडक दिगो भए नभएको अनुगमन नभएकोबारे प्रश्न उठाउनुभएको छ भने झपिन्द्र बहादुर क्षेत्रीले नगरपालिकाले सामग्री खरिद गर्दा स्थानीय व्यपारीहरुबाट लिनुपर्ने र उनिहरुलाई प्रोत्साहन गर्नुपर्ने माग गर्नुभएको छ । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा जैमिनी अस्तव्यस्त भएको भन्दै जैमिनी २ का नन्दलाल सापकोटाले दरबन्दी मिलान नहुँदा शिक्षकहरु नियुक्ती गराउन समस्या भएको गुनासो गर्नुभयो । कतिपय विद्यालयमा विद्यार्थी कम र शिक्षक बढी भएकाले शिक्षक कम भएको विद्यालयमा मिलान गराउन नसक्नु नगरपालिकाको कमजोरी भएको उहाँको भनाई छ ।

प्रश्नको जवाफ दिँदै नगर शिक्षा प्रमुख खेम प्रसाद आचार्यले दरवन्दी मिलान गर्न कार्यपालिकाले पनि समिति गठन गरेको र प्रक्रिया सुरु गर्दै गर्दा कोरोना भाइरसको महामारी फैलिएकाले समस्या पैदा भएको बताउनुभयो । जैमिनीका २६ वटा प्राथमिक तहको दरवन्धी काटिनुपर्ने विवरण आएको तर नगरपालिकामा सो विवरणको दरवन्दी खाली नभएको र शिक्षक रहिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा ईन्जिनियर विवेक सापकोटाले प्रश्नको जवाफ दिँदै बर्खायामका कारण सडक सञ्चालनमा समस्या भएको भन्दै नगरपालिकाले यस प्रति चासो दिएको बताउनुभयो । कतिपय कार्यहरु गर्न कर्मचारी अभावले पनि समस्या भएको भन्दै योजनाको प्रभावकारिताको सन्दर्भमा आफूहरु सचेत भएको बताउनुभयो । समस्याका बाबजुत पनि नगरपालिकाले दिगो सडकको रुपमा तोकेको १३ वटा सडक एक दुई दिन बाहेक बन्द नभएको भन्दै ईन्जिनियर सापकोटाले नगरपालिकाका सबै वडामा कम्तिमा एउटा सडक बर्खाभरी नै सञ्चालनमा आएको दावी गर्नुभयो ।

नगर प्रमुख ईन्द्रराज पौडेलले उठेका प्रश्नहरुको जवाफ सहित नगरपालिका सुशासन र पारदर्शितामा संधै उदार रहेको बताउनुभएको छ । नगरपालिकामा आएका समस्याहरुलाई समाधान गर्ने र कोहि भोको बस्न नपरोस् भनेर आर्थिक सहायताको नीति ल्याएको उहाँको भनाई छ । कतीपय सवालहरु संकाको आधारमा पनि आउने गरेको भन्दै उहाँले जैमिनी नगरपालिकामा भएका काम कारवाहीहरु जनमूखि हुने दावी गर्नुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने