सुजन प्रेमी
बागलुङ, २७ असोज २०७८ ।
चाडवाड लागेसँगै जैमिनीका नागरिकहरुले यातयात सेवाबाट सास्ती पाएका छन् । नियमित र सार्वजनिक गाडीहरु नचल्दा जैमिनीमा आउने र यहाँबाट जाने नागरिकहरुले थप सास्ती पाएका हुन् ।
नीजि जीप तथा पीकअपहरु उनिहरुको समयमा चल्ने हुँदा गाडीको टुंगो नहुने यात्रुहरुको गुनासो छ । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराबाट जिल्ला सदसमुकाम बागलुङ जाने र नगरको केन्द्रबाट गाउँ गाउँ जाने सवारी साधनहरु नहुँदा स्थानीयहरु मारमा परेका छन् ।
जैमिनीमा अहिलेसम्म कुनैपनि संगठित सार्वजनिक यातयातहरु छैनन् भने समय तालिका अनुसार पनि चल्दैनन् । समय तालिका अनुसार नचल्ने हुँदा दिउँसोको समयमा बागलुङ जाने सवारी पाउन सकिँदैन भने बिहानै बागलुङबाट आउने गाडीहरु पनि पाउन नसकेको यात्रुहरुको गुनासो छ ।
स्थानीयहरुले नगरवस सञ्चालन गर्नुपर्ने माग गरेपनि त्यसतर्फ नगरपालिकाले चासो नदिएको नगरवासीहरुको आरोप छ । नगरपालिका आफैँले नगरबस सञ्चालन गर्न असम्भव रहेको तर यातयात व्यवसायीहरु तयार भए सहजिकरण गर्न सकिने जैमिनी नगरपालिकाले जनाएको छ ।
जैमिनीमा यातयात नपाउने समस्या मात्रै नभएर भाडादर पनि मनोमानी भएको स्थानीय छायादत्त चापागाईले बताउनुभयो । अन्यत्रको तुलनामा जैमिनीको भाडादर दोब्बर भन्दा महंगो भएको भन्दै उहाँले नगरपालिकाले भाडादर कायम गर्दा व्यावहारिक पक्ष पनि हेर्नुपर्ने सुझाव दिनुभयो ।
नगरपालिकाले भाडादर कायम गरेपनि नियामक निकाय जिल्ला प्रशासन कार्यलय र यातयात व्यवस्था कार्यलय भएकाले भाडादर लागु गर्न समस्या भएको जैमिनी नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रारम्भिक रुपमा छलफल गरेको भएपनि भाडादर कायम गरेर कार्यन्वयन गराउने काम यातयात व्यवस्था कार्यलय र जिल्ला प्रशासनको भएको र जैमिनीका बिभिन्न वडाहरुमा जाने सार्वजनिक गाडीहरु नभई पीकअप जीपहरु भएकाले उनिहरुले आफुखुशी भाडा लिएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले बताउनुभयो ।
अहिले नीजि जीप तथा पीकअपहरुले जिल्ला सदरमुकाम देखि कुश्मिसेरा सम्म आउनको लागि ५ सय रुपैयाँ सम्म भाडा लिने गरेका छन् । यो बाटो करिव २० किलोमिटरको दुरीमा रहेको छ । दुरीका हिसाबले छोटो देखिए पनि बाटोको अवस्थाका कारण बढी भाडा लिन बाध्य भएको यातयात व्यवसायीहरुले बताएका छन् ।
अहिले चाडवाडमा झन् बढी भाडा तिर्नुपरेको यात्रीहरुले दुखेसो पोखेका छन् । नीजि पीकअपहरुले सम्पर्कका आधारमा मान्छे बोक्ने भएकाले उनिहरुले भने बमोजिम भाडा नदिए गन्तव्यमा पुग्न नसकिने भएकाले पनि दोब्बर भन्दा बढी भाडा तिर्नुपरेको उनिहरुको गुनासो छ । अहिले जैमिनीका नागरिकहरू पीकअप जिपको पछाडि टोकरीमा बसेर यात्रा गर्न बाध्य छन् ।
जैमिनीमा अहिलेसम्म रुट परमिट पाएको सडक नभएकाले यहाँको भाडादर निर्धारणमा समस्या देखिएको यातयात व्यवस्था कार्यलय बागलुङले जनाएको छ ।
प्रतिक्रिया दिनुहाेस्