एमाले महाधिवेशन बारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार आएको भन्दै गरिएको दाबी गलत

याे सामग्री सेअर गर्नुहाेस्

चितवनमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको भव्यतालाई देखेर अचम्म पर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार बनाएको भन्ने दाबी सामाजिक सञ्जालमा फैलिएको छ। बीबीसी, अल जजिरा, द न्युयोर्क टाइम्स, आजतक, र सिन्ह्वा जस्ता अन्तरार्ष्ट्रिय सञ्चारमाध्यममा छापिएको समाचारहरुको अंश भन्दै शेयर भइरहेको छ।

बागमति प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल फेसबुक पेजमा पनि उक्त दाबी  गरिएको फोटो पोष्ट गरिएको छ। उक्त पोष्टमा १०००भन्दा बढि प्रतिक्रिया आएको छ र ६० सेयर भएका छन्।

नेकपा एमालेकी नेतृ तथा बागमति प्रदेशको पूर्व सामाजिक विकास मन्त्री  सरस्वती बस्नेतको फेसबुक पेजमा पनि उक्त दाबी शेयर भएको छ। त्यस्तै फेसबुकका अन्य प्रयोगकर्ताले पनि उक्त पोष्टलाई शेयर गरेका छन्।

त्यस्तै ट्विटर प्रयोगकर्ताले पनि अन्तर्राष्ट्रिय संचारमाध्यममा ‌एमालेको महाधिवेशनले समाचार बनाएको दाबी ट्विट गरेका छन्। माइलो नामको ट्विटर ह्यान्डल पनि उक्त दाबी गरिएको स्क्रिनसट ट्विट भएको छ।

तथ्य जाँच

साउथ एसिया चेकले सामाजिक संजालमा फैलिएको उक्त पोष्टको तथ्यजाँच गरेको छ। ती अन्तर्राष्ट्रिय संचारमाध्यममा त्यस्ता दाबी गरिएको समाचार प्रकाशित भएका छैनन्। गुगल सर्च गर्दा उल्लेख गरिएको संचारमाध्यमले एमालेको महाधिवेशनको समाचार प्रकाशित गरेको भेटिएन।साउथ एसिया चेकले हरेक सञ्चार माध्यमको वेबसाइटमा खोजी गरेको थियो।

  • ठाउँ कब्जा गरेको हिसाबले  एमाले महाधिवेशनमा १० लाख भन्दा बढी मानवसागर उर्लिएको  देखियो/ एमाले महाधिवेशनमा १५ लाख भन्दा बढी मानवसागर उर्लिएको तंथ्याक छ – बिबिसी

साउथ एसिया चेकले बिबिसी वर्ल्ड र बिबिसी नेपाली सेवाको वेबसाइटमा ‘कि वर्ड’ सर्च गरेको थियो। बिबिसी वर्ल्डमा सिपिएन युमएल, नेपाल, जनरल कन्भेन्सन जस्ता शब्द प्रयोग गरी खोज्दा कुनै पनि नतिजा देखाएन । पछि नेपाल, केपी शर्मा ओली कि वोर्ड राख्दा नेपालसम्बन्धित अन्य खबरहरु देखाएको थियो। तर नेकपा एमालेको दशौ महाधिवेशन सम्बन्धी समाचार भेटिएन।

बिबिसी नेपाली सेवामा नेकपा एमालेको महाधिवेशनको खबर प्रकाशित भएपनि १० लाख/ १५ लाख मानव सागर उर्लिएको भन्ने समाचार छैन।

  • कार्ल माक्स पछि विश्व कम्युनिस्ट धार अब कस्तो रहने भन्नेमा एमालेले तय गर्नेछ ।- अलजजिरा

अलजजिराको वेबसाइटमा पनि एमालेको महाधिवेशनबारेको कुनै पनि समाचार भेटिएन। नेपाल, सिपिएन युएम एल, जनरल कन्भेन्सन, नेपाल कम्युनिष्ट पार्टी, के पि शर्मा ओली जस्ता किवर्ड राखेर खोज्दापनि एमालेको महाधिवेशनको बारेमा भेटिएन।

अलजजिराको वेबसाइटको एसिया र एसिया प्यासिफिक खण्डमा हेर्दापनि एमालेको महाधिवेशनको खबर भेटिएन।

  • नेपालमा देखिएको कम्युनिस्ट पार्टी र केपि ओलिको क्रेज अन्तर्राष्ट्रियस्तरकै रहेको प्रारम्भिक अनुमान – आजतक

आजतकको वेबसाइट र युट्युबमा पनि नेकपा एमालेको महाधिवेशनको बारेमा कुनै समाचार छैन। नेपाल कम्युनिष्ट पार्टी,सीपीएन युएमएल, जनरल कन्भेन्सन, केपी शर्मा ओली जस्ता किवर्ड राख्दा केही भेटिएन।

  • नेकपा महाधिवेशनलाई लिएर दक्षिणी एसियामा कम्युनिस्टको दरिलो उपस्थिति रहेको र चिनियाँ कम्युनिस्ट पार्टिले यसको उच्च मुल्यांकन गरेको  सि जिङ्पिङ्ग ज्युको भनाइ बाहिर आएको छ ।- सिन्ह्वा

साउथ एसिया चेकले सिन्हवा न्युज एजेन्सीको वेबसाइटमा किवर्ड खोजी गरेको थियो। किवर्ड खोजी गर्दा एमालेको महाधिवेशन सम्बन्धी कुनै समाचार देखिएन। १ हप्तामा आएको समाचारहरुको सुची हेर्दापनि नेकपा एमालेको बारेमा लेखिएको त्यस्ता समाचार भेटिँदैन ।

  • नेपालमा आगामी केही समय भित्रै कम्युनिस्ट सरकार बन्ने  र त्यस्को नेतृत्व केपि ओलीले गरिरहेने स्थिति बनेको छ ।- रोयटर्स

 रोयटर्सको वेबसाइटमा गएर नेपालको कम्युनिष्ट पार्टीको खोजी गर्दा यो एक हप्ताको अवधिमा कुनै समाचार भेटिएन।

६)    मान्छेहरु महाअधिवेशन भन्नाले एमालेको कार्यक्रमलाई सम्झिनेछन् । – द न्युयोर्क टाइम्स

द न्युयोर्क टाइम्सको वेबसाइटमा हामीले किवर्ड राखेर खोजी गर्यौं । वेबसाइटमा राखिएको खबरहरु यसो हेर्दा पनि एमालेको महाधिवेशन सम्बन्धी कुनै खबर छापिएको पाएनौं।

सामाजिक सञ्जालमा फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेकपा एमालेको महाधिवेशनको प्रशंसा गरेर समाचार आएको भन्ने दाबी झुटो हो ।

याे तथ्य southasiacheck.org बाट लिइएको  हाे  । श्राेत लिंक http://southasiacheck.org/np/?p=7826


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने