छिस्तीमा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न, महिला हिंसा नघटेकोमा चिन्ता

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २२ मंसिर २०७८ ।

छिस्तीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाइने अभियान अन्तरगत बागलुङको जैमिनी नगरपालिका ८ छिस्तीमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो ।

दिवसको अवसरमा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ नाराका साथ बिभिन्न व्यक्ति र स्थानीयहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको जैमिनी नगरपालिका महिला विकास शाखाकी संयोजक देवी सुनारले जानकारी दिनुभयो ।

जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलको उपस्थितिमा भएको कार्यक्रमका सहभागीहरुले अझैपनि महिला हिंसा विद्यमान रहेकाले यसको अन्त्य गर्न कडा कानुनको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको थियो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाइदै आइएको छ ।

महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ । तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन ।

बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार