जैमिनीमा दलित सचेतनामूलक कार्यक्रम सम्पन्न, कानुनमा बिभेद नभएपनि समाजमा कायमै

याे सामग्री सेअर गर्नुहाेस्

 

बागलुङ, ११ बैशाख २०७८ ।

जैमिनीमा दलित सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका १ कुश्मिसेरामा   दलित सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

सम्पूर्ण दलित समूदायहरु एक होऔँ भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा बोल्ने वक्ताहरुले दलितहरुको हक र अधिकारका लागि अब दलितहरु नै जागरुक हुनुपर्ने बताएका छन् ।

जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले दलित दलित बिचको बिभेदलाई अन्त्य गर्न सके पनि बिभेद धेरै कम हुने बताउनुभयो । अधिकार खोसेर लिनुपर्ने भन्दै उहाँले शिक्षा र राजनिति क्षेत्रमा दलितहरुले पूर्ण सहभागिता नजनाएसम्म आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्न कठिन हुने धारणा राख्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले कानुनले नै बिभेद गर्नेलाई दण्डित गर्ने भएकाले अब कसैले बिभेद गर्न नहुने बताउनुभयो । कसैले बिभेद गरेमा दलितहरुले उजुरी गर्नुपर्ने भन्दै उहाँले मानिसहरु सबै बराबर भएकाले कसैले कसैलाई बिभेद गर्न नहुने उल्लेख गर्नुभयो ।

जैमिनी नगरपालिका कार्यपालिका सदस्य तथा कार्यक्रमका प्रशिक्षक लाल बहादुर परियारले दलितहरुलाई कम्तिमा पनि १३ प्रतिशत कोटा छुट्याउनुपर्ने माग राख्नुभएको छ । दलितहरुलाई बिना बिभेद उच्च तहमा जान पाउने अवसर दिनुपर्ने भन्दै उहाँले दलितहरुको लागि सम्बन्धीत निकायहरुले उचित बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रशिक्षक तथा जैमिनी नगरपालिकाका लेखा अधिकृत सुर्य बहादुर विकले दलितहकको लागि भएका कानुनी व्यवस्थाको बारेमा जानकारी दिनुभएको थियो । कसैले छुवाछुत र बिभेद गरे कानुनले नै दण्डित गर्ने भन्दै उहाँले उजुरी गर्ने निकाय र तरिकाको बारेमा जानकार हुनुपर्ने बताउनुभयो ।

जैमिनी नगरपालिका वडा नं ५ र ६ का वडा सचिव रुद्र विकले दलितहरु व्यक्तिगत घटनादर्तामा पछि रहेको भन्दै आफ्ना प्रमाणहरु बलियो बनाउन आग्रह गर्नुभयो । आफूसँग प्रमाण भए कतै झुक्नु नपर्ने भन्दै उहाँले भूमि र व्यक्तिगत घटना दर्ताको प्रमाण सुरक्षित राख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका १० ओटै वडाका दलित महिला जनप्रतिनिधि सहित दलित अगुवाहरुको उपस्थिति रहेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार