जापानी संस्थाले दमेकमा दिएको एम्बुलेन्स कता हरायो ? जैमिनी नगरपालिका नै बेखबर

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ ४ जेठ २०७८ ।

२०७५ सालमा एक जापानी संस्थाले दमेकमा एउटा बोलेरो कम्पनीको एम्बुलेन्स दियो । बागलुङ जिल्लाको दुर्गम भनेर चिनिने जैमिनी नगरपालिका २ दमेकको वनहुँ स्थित सरस्वती प्राथमिक विद्यालयका लागि चारकोठे पक्की भवन र एउटा एम्बुलेन्स सन वर्ल्ड भिजन नामक जापानी संस्थाले प्रदान गरेको थियो ।

स्थानीय जनप्रतिनिधि सहितको टोलीले तामझामका साथ २०७५ साल बैशाखको ९ गते आइतबार भवन र एम्बुलेन्सको उद्घाटन गर्याे । दमेकका स्थानीयहरु खुसी भए एम्बुलेन्स पाइयो भनेर । उद्घाटनमा पनि उदाहरणीय काम भएको भन्दै जनप्रतिनिधिहरुले समेत खुब प्रशंसा गरे तर अहिले कोरोनाको महामारीमा त्यो एम्बुलेन्स कहाँ छ भनेर उनै जनप्रतिनिधिहरु बेखबर बनेका छन् ।

सन वर्ल्ड भिजनका प्रमुख कार्यकारी अधिकृत काजु योसी यामानोले हस्तान्तरण गर्दा एम्बुलेन्स नै भएको बोलेरो अहिले भाडाको गाडीको रुपमा प्रयोग भएको पाइएको छ । दाताले एम्बुलेन्स नै दिएपनि अहिले गाडीलाई भाडाको रुपमा प्रयोग गर्दा जैमिनी नगरपालिकामा भने एम्बुलेन्सको अभाव पीकअप जिपले पुर्ती गर्ने गरेको छ ।

विद्यालयलाई हस्तान्तरण गरेपनि सो सवारी अहिले वनहुँ मै निर्माण भैरहेको लक्ष्मीनारायण पञ्चदेव मन्दिरको नाममा रहेको छ । अहिले सो सवारी सोहि मन्दिर मार्फत सञ्चालनमा ल्याइएको छ ।

अहिले कोरोना महामारीमा दाताबाट आएको एम्बुलेन्स प्रयोग गर्न नपाएकोमा चिन्तित बनेका दमेकवासीहरुले गाडीलाई भाडाको रुपमा सञ्चालन गर्दा आफूहरुले सेवा नपाएको गुनासो गरेका छन् ।

विद्यालय भवन र एम्बुलेन्सका लागि सन वर्ल्ड भिजन संस्थाले ६५ लाख रुपैयाँ उपलब्ध गराएको भएपनि भवन बनाउन मात्रै ५५ लाख रुपैयाँ खर्च भएको दाताले दिएको सवारी सञ्चालन गरिरहेको लक्ष्मीनारायण पञ्चदेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम सापकोटाले जानकारी दिनुभयो ।

भाडाको गाडीको रुपमा सञ्चालन भएपनि यसले एम्बुलेन्सले दिने सेवा पनि दिइरहेको अध्यक्ष सापकोटाको दावी छ । उहाँ भन्नुहुन्छ “हामीले विरामीहरुको लागि आधा भाडामा सेवा दिरहेका छौँ, आवश्यक परे दिनरात खटिएका छौँ, विरामी लिएर जता जानुपरे पनि गएकै छौँ व्यवहारिक असहजताले गर्दा एम्बुलेन्स सञ्चालन गर्न सकेनौँ तर सेवा सोहि सरहको दिएका छौँ ।”

उहाँले जिल्लाखबर डटकम संगको कुराकानीमा भन्नुभयो “दाताले दिएको पैसाले विद्यालय भवन बनाउने र एम्बुलेन्स खरिद गर्ने भनेपनि भवन बनाएर १० लाख रुपैयाँ मात्रै बचत भयो त्यति पैसाले एम्बुलेन्स आएन हामीले नै मन्दिरको तर्फबाट २५ लाख रुपैयाँ ऋण खोजेर गाडी ल्याइयो, त्यतिबेला दाताहरुकै सजिलोका लागि हामीले एम्बुलेन्स लेखेका हौँ ।” सापकोटाका अनुसार दाताले दिएको रकमबाट १० लाख रुपयाँमात्र बचत भयो उता राजस्व छुटका लागि गरिएको प्रकृयापनि प्रशासनबाट अगाडि बढ्न सकेन सोहि कारणले मन्दिरको नामा गाडी खरिद भएको हो ।

एम्बुलेन्स भनेर सञ्चालन गर्दा कहिलेकाहीँ बाहेक नचल्ने हुँदा आवश्यक खर्च समेत नउठ्ने देखेर एम्बुलेन्स नभइ गाडी दर्ता गरिएको सापकोटाको भनाई छ ।

रोजगारीका लागि जापानमा रहेका जैमिनी २ का विष्णु सापकोटाले गाउँको वस्तुस्थिति र विद्यालयको वातावरणको बारेमा जानकारी गराएपछि संस्थाले सो सहयोग गरेको थियो ।

“पछि हामीले रकम नपुगेको जानकारी संस्थामा गराएका थियौँ तर संस्थाले पैसा नपठाएपछि हामीले एम्बुलेन्स सञ्चालन गर्न नसक्ने र भाडाको साधन बनाउने उनिहरुलाई जानकारी दियौँ” अध्यक्ष सापकोटाले भन्नुभयो “लोकेन्द्र सापकोटाको संयोजकमा गाडी सञ्चालक समिति बनाएर गाडी किनेर सञ्चालन गरेका छौँ ।”

भाडाको गाडीको रुपमा सञ्चालन भएपनि यसले एम्बुलेन्सले दिने सेवा पनि दिइरहेको अध्यक्ष सापकोटाको दावी छ । उहाँ भन्नुहुन्छ “हामीले विरामीहरुको लागि आधा भाडामा सेवा दिरहेका छौँ, आवश्यक परे दिनरात खटिएका छौँ, विरामी लिएर जता जानुपरेपनि गएकै छौँ व्यवहारिक असहजताले गर्दा एम्बुलेन्स सञ्चालन गर्न सकेनौँ तर सेवा सोहि सरहको दिएका छौँ ।”

“एम्बुलेन्स हस्तान्तरण गरेको अर्कोबर्ष पनि जापानी संस्थाका पदाधिकारीहरु आएका थिए, सो समयमा सोहि गाडीमा काठमाडौदेखि दमेक सम्म ल्याएर गाउँ घुमाएर पठाइएको थियो” उहाँले भन्नुभयो दाताहरुनै यसबारे जानकार हुनुहुन्छ हामीले लुकुछिपी किर्ते गरेका छैनौँ ।”

यस विषयमा जैमिनी नगरपालिकाका वडाध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले आफूले एम्बुलेन्स दिएकोे जानकारी पाएको बताउनुभएको छ । “अरु कागजी काम के गरे त्यो समितिलाई थाहा होला तर उतिबेला संस्थाले विद्यालय भवन बनाइदिएको हो र एम्बुलेन्स दिएको हो” उहाँले भन्नुभयो “हस्तान्तरण गर्नेबेलामा एम्बुलेन्स नै थियो ।”

जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले पनि यस विषयमा आफूलाई खासै जानकारी नभएको बताउनुभएको छ । संस्थाले एम्बुलेन्स नै भनेर दिएको भएपनि व्यवहारिक रुपमा त्यो नभएको भन्ने सुन्नमा आएको उहाँको भनाई छ ।

अहिले जैमिनी नगरपालिकाले मासिक २ लाख भन्दा बढि भाडा तिरेर डेडिकेटेड एम्बुलेन्सको रुपमा एउटा पीकअप भाडामा लिएको छ । गतबर्ष पनि जैमिनीले यसैगरी तीनवटा सम्म पीकअप भाडामा लिएको थियो तर सो एम्बुलेन्सको बारेमा जैमिनीमा कसैले कुरा उठाएका छैनन् ।

अहिले सो गाडी दमेकमा नै रहेको चालक चिरञ्जिवी सापकोटाले जानकारी दिनुभयो । लकडाउनको समयमा हिँड्न नपाइने भएकाले मन्दिरको गाडी थन्किएर बसेको उहाँको भनाई छ ।

जैमिनी नगरपालिकाले यस विषयमा सम्बन्धित समितिलाई कुनै कुरा नगरेको समितिले जनाएको छ भने नगर प्रमुख पौडेलले मन्दिरको गाडी नगरपालिकाले सञ्चालन गर्न समितिले नदिने तर्क गर्नुभएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार