Breaking News: गृह मन्त्री थापालाई पछि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डौ, ६ जेठ २०७८ ।

वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा डाक्टर खिमलाल देवकोटा विजयी हुनुभएको छ । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो ।

खिमलाल देवकाेटा पाँच हजार ८८ मतभार सहित विजयी हुनुभएकाे थियाे भने निकटम प्रतिद्वन्दी रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गर्नुभएकाे थियाे । तीनजना उम्मेदवारमध्ये अर्का नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले  एक सय ३२ मतभार प्राप्त गर्नुभएकाे छ ।

माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव भएकाे हो । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो । संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिनुहुन्छ तर उहाँले नेपाल पक्षका एमाले सहित बिभिन्न दलकाे समर्थनमा स्वतन्त्र पक्षबाट उम्मेदवारी दिनुभएकाे थियाे ।

राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो भने साढे ४ बजेदेखि मतगणना शुरु भएको थियो ।

उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्पm १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका थिए । यसमध्ये कोरोना भाइरस संक्रमित मतदाताको संख्या २५ थियो ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था मिलाइएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार