बरेङ बजारको कालोपत्रे बाटो ६ महिनामै बिग्रियो, स्थानीयको लापरवाही र सरोकारवालाको बेवास्ता

याे सामग्री सेअर गर्नुहाेस्

 

दिपेन्द्र परियार
बागलुङ, १८ असार २०७८ ।

बागलुङको बरेङ बजारमा पिच गरिएको मोटरबाटो ६ महिनामै बिग्रिएको छ । स्थानीयहरुको लापरवाही र क्षमताभन्दा बढी लोडका सवारी गुडाउँदा एक बर्ष नपुग्दै बाटो बिग्रिएको हो ।

बरेङ बजार भन्दा उत्तरपट्टी पालिका स्तरीय खेल मैदान निर्माणका लागी काटिएको डाँडाको माटो उचित ठाँउमा व्यवस्थापन गर्न नसक्दा करोडौको लागतमा सम्पन्न भएको बजारको पिच बाटो कतै भासिने त कतै कालोपत्र उप्किएर हिलाम्य बन्न थालेको बजारबासीहरुले बताएका छन् ।

बाटोको भार क्षमता भन्दा बढी लोड भएका ठुलागाडीहरु गुडेपछि बाटो ठाँउठाँउमा भासिनुका साथै कालोपत्रे समेत उप्किन थालेको उनिहरुको भनाई छ । अझ कतिपय ठाउँमा स्थानीयहरुले नै निर्माण सामग्री राख्दा समस्या भएको छ ।

लगातारको बर्षा र खेलमैदान निर्माणका लागी डाडाँ काटिएको माटो दैनिक टिप्पर तथा ट्याक्टरमा लोड गरेर भाटि बजारमा फाल्दै गर्दा १ करोड ३९ लाख रुपैयाँ लागतमा कालोपत्रे गरिएको बाटो ६ महिनामै क्षतबिक्षत भएको बरेङ गाँउपालिकाका सब ईन्जिनियर राजन खरेलले जानकारी दिनुभयो ।

“कार्पेट सिस्टम बाट पिच गरिएको बाटोको भार क्षमता १० टन देखि १२ टन हो, हामिले बजारका केहि व्यक्तिहरुलाई बाटोको भार क्षमताको बिषयमा भनेका थियौ तर उहाँहरुले मान्नुभएन” सब ईन्जिनियर खरेलले भन्नुभयो “एकातिर लगातारको बर्षा छ , अर्कोतिर २ पाङ्ग्रे देखि ४ पाङ्ग्रे गाडीहरु मात्रै गुड्ने बाटोमा लोड गरिएका टिप्पर तथा जेसिबिहरु लगातार हिडाउँदा ओभरलोडकै कारण बाटो बिग्रेको होे”

आफुहरुले लाखौँ लगानी गरेर बनाएको घरजग्गा बाटोको लागी त्यागेको स्मरण गर्दै बरेङ बजार ब्यबस्थापन समितिका अध्यक्ष दिलराज पुनले बाटोको भार क्षमताको बिषयमा आफुहरुलाई केहि जानकारी नभएको बताउनुभयो । यो बिषयमा तुरुन्तै बैठक बसेर निर्णय गर्ने उहाँको भनाई छ ।

“हामिले बाटोको लागी ठुलो त्याग गरेका छौँ, आफु बस्ने बास समेत त्यागेर बाटो बनाएका हौँ, यो बाटोको हामी सबैलाई उत्तीकै माया छ” उहाँले भन्नुभयो “तुरुन्तै बजार व्यवस्थापन समितीको बैठक राखेर आवश्यक निर्णय गर्छौ ।”

बाटो संरक्षणमा स्थानीयको समेत बेवास्ता रहेको कतिपयको बुझाई छ । बाटोको भार क्षमता अनुसारको मापदण्ड निर्धारण नगर्नु, स्थानीयले बाटोमै निर्माण सामाग्रीहरु राख्ने, नालीहरु अवरोध गर्ने, पेट्रोल डिजल बाटोमै फाल्ने लगाएतका कार्यहरु गर्नाले पनि बाटो को अबस्था बिग्रिन पुगेको सरोकार वालाहरुको बुझाई छ ।

हिउदमा धुलो तथा बर्खामा हिलाम्मे सडकका कारण सास्ती बेहोर्दै आएका बरेङ बजार बासी नागरिकहरु थोरै भएपनि बजारमा कालो पत्रे हुँदा खुशी भएका थिए तर ६ महिना पनि नबित्दै बाटो पुरानै स्वरुपमा हिलाम्मे हुन थालेपछि स्थानीय चिन्तित भएका छन ।

बरेङमा २० लाखको योजना निर्माणले करोडौको लागतमा सम्पन्न भएको कालोपत्रे मोटरबाटो क्षत बिक्षत हुनु निकै दुःखद भएको सब ईन्जिनियर खरेलको भनाई छ ।

चालु आर्थिक बर्षको अन्त्यमा आएर २० लाखको लागतमा बजार को उत्तर पट्टि रहेको ट्याम्कुली डाँडा काटेर पालिका स्तरीय खेल मैदान निर्माणकार्य भैरहेको छ ।

नेपाल सरकारको समानीकरण अनुदान ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत लगानीमा बरेङ गाँउपालिकाले पालिकाको गौरवको योजनाको रुपमा प्राथमिकतामा राखेर साँघुरो बजार क्षेत्रलाई फराकिलो बनाउदै रु १ करोड ४५ लाख ६५ हजार ६ सय २० रुपैया ५८ पैसाको लागतमा एक किलोमिटर लम्बाई र ५ दशमलव ५ मिटर चौडाई सडक कालोपत्रे गरेको थियो ।

सडक कालोपत्रे गर्ने कम्पनीलाई बरेङ गाउँपालिकाले गत पुस १२ गते रकम भुक्तानी गरेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार