बागलुङ, ४ असोज २०७८ ।
जैमिनीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । बागलुङको जैमिनी नगरपालिका ७ जैदीको बजेनीमा चट्याङ पर्दा स्थानीय ६७ बर्षीय मुम बहादुर सार्कीको मृत्यु भएको हो ।
सोमबार साँझ साँढे ६ बजेतिर परेको चट्याङ लागेर उहाँका भाइ बुहारी र छिमेकी घाइते भएको जैमिनी नगरपालिकाका बिपद व्यवस्थापन समितिका सदस्य कृष्ण थापाले जानकारी दिनुभयो । चट्याङ लागेर एउटा पाडो पनि मरेको छ ।
घटना भएलगतै प्रहरी असई रबिन्द्र उपाध्यायको नेतृत्वमा प्रहरी चौकी बेलबगरको टोली गएर उद्दार गरेको थियो । घाइतेको थप उपचार र मृतकको पोष्टमार्टमको लागि धौलागिरी अस्पताल बागलुङ लगिएको छ ।
चट्याङ लागेर मृतकको घर सहित छिमेकीको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ । साँझ भौसी दुहुने क्रममा चट्याङ पर्दा सार्कीको घटनास्थलमा नै ज्यान गएको स्थानीयहरुले बताएका छन् ।
घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली हुनुहुन्छ । घटनामा एउटा भैँसीसमेत मरेको थियो ।
प्रतिक्रिया दिनुहाेस्