बागलुङ, २२ चैत २०७८ ।
जैमिनीमा टाइफाइट खोप सम्बन्धी अभिमूखिकरण गोष्ठी सम्पन्न भएको छ । टाइफाइड रोग विरुद्धको खोप अभियानको विषयमा जैमिनी नगरपालिकाको आयोजनामा सोमबार पालिका स्तरीय गोष्ठी सम्पन्न भएको हो ।
टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात सम्बन्धि पालिकाका शिक्षक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगाएतको उपस्थितिमा अभिमूखिकरण गोष्ठी गरिएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो । गोष्ठीमा खोप अभियान र टाइफाइट खोपलाई नियमित खोपमा समेट्ने विषयमा स्वास्थ्य शाखा संयोजक आचार्यले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले खोप अभियानमा लक्षित समुह सबैलाई सहभागी गराउन आग्रह गर्दै रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनेतर्फ सचेत रहन सुझाव दिनुभयो ।
जैमिनी नगरपालिकामा चैत २५ गतेदेखि ३० गतेसम्म टाइफाइट रोग विरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । अभियानमा १५ महिनादेखि १५ बर्ष उमेर समुहका बालबालिकाहरुलाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख आचार्यले बताउनुभयो । नगरपालिकामा झण्डै ६ हजार जना १५ महिना देखि १५ बर्ष उमेर समुहका बालबालिका रहेको प्रारम्भिक तथ्यांक अनुसार सोहि संख्यामा खोप लगाउने लक्ष राखिएको उहाँको भनाई छ ।
जैमिनी नगरपालिकामा विद्यालय जाने बालबालिकालाई विद्यालयमा र नजाने बालबालिकालाई नजिकको खोप केन्द्रहरुमा महिला स्वास्थ्य स्वयंसेविकाको समन्वयमा खोप लगाइने छ । नेपाल सरकारले आगामी चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म जन्मेको १५ महिनादेखि १५ बर्षसम्मका सबै बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप सञ्चालन गर्न लागेको छ । बैशाख पछि यो खोप नियमित खोपको रुपमा लगाइने छ । टाइफाइट विरुद्धको खोप एक मात्रा लगाए पुग्ने विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको छ ।
प्रतिक्रिया दिनुहाेस्