जैमिनीमा स्थानीय पाठ्यक्रम तर्जुमा गोष्टी सुरु, के भन्छन् सहभागी ?

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, १ जेठ २०८० ।

जैमिनीमा स्थानीय पाठ्यक्रम तर्जुमा गोष्टी सुरु भएको छ । बागलुङको जैमिनी नगरपालिकाले लागु गर्ने स्थानीय पाठ्यक्रम सम्बन्धी तर्जुमा गोष्टी सुरु भएको हो ।

जैमिनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र सिकाई परियोजना, बिवाईसी बागलुङ, भिएसओ नेपाल र हेम्पेल फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा २ दिने पाठ्यक्रम तर्जुमा गोष्टी सुरु भएको जैमिनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खेम प्रसाद आचार्यले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो । कक्षा १ देखि ५ सम्म लागु हुने गरी तयार भएको स्थानीय पाठ्यक्रमको मस्यौदामा छलफल गरी प्राप्त सुझावलाई समेटेर पाठ्यक्रम लागु गरिने उहाँको भनाई छ ।

पाठ्यक्रम निर्माण उप समितिका संयोजक झपिन्द्र बहादुर क्षेत्रीले पाठ्यक्रमको औचित्य र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्थानीय पाठ्यक्रमको मस्यौदा तयार गरिएको र सबैको सुझाव समेटेर अन्तिम रुप दिइने बताउनुभयो ।

कार्यक्रममा स्थानीय पाठ्यक्रम संग सम्बन्धीत रहेर अध्ययन गरिरहनु भएका विज्ञ डाक्टर तुलसीराम खनालले स्थानीय श्रोत र आवश्यकतालाई मध्यनजर गरी तयार पारिएको पाठ्यक्रम नै प्रभावकारी हुने भएकाले यतातिर ध्यान दिन नगरपालिकालाई आग्रह गर्नुभयो । कतीपय पालिकाहरुले स्थानीय पाठ्यक्रम देखाउनको लागि मात्रै बनाएको र अरुको साभार गरेको पाइएकाले जैमिनी नगरपालिकाले स्थानीय विज्ञहरुलाई नै पाठ्यक्रम तयार पार्न लगाएमा मात्रै यसको सार्थकता हुने बताउनुभयो ।

उद्घाटन सत्रमा बोल्दै स्थानीय सेवा प्रदायक संस्था बिवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले स्थानीय पाठ्यक्रममा हरेक क्षेत्रको व्यवहारिक कुराहरु उल्लेख गर्नुपर्नेमा जाड दिनुभयो । बिवाईसी बागलुङले शिक्षा, स्वास्थ्य लगाएतको क्षेत्रमा काम गरिरहेको भन्दै उहाँले जैमिनी नगरपालिकाले गर्ने यस्ताखाले कार्यहरुमा सँधै साँझेदारी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा डाक्टर प्रमोद ढकालले स्थानीय पाठ्यक्रम निर्माण गर्दा भाषिक शुद्धता देखि हरेक कुरामा ध्यान पुराउनुपर्ने बताउनुभयो । अहिलेको सानो लापरवाहीले पछिको लागि ठुलो असर हुनसक्ने भन्दै उहाँले पाठ्यक्रममा के कस्ता विषय समेट्ने हो त्यसको गहिरो अध्ययन हुनुपर्नेमा जोड दिनुभयो ।

जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले स्थानीय पाठ्यक्रमले जैमिनी नगरपालिकालाई समृद्ध र खुसी बनाउन ठुलो मद्दत पुग्ने बताउनुभयो । उहाँले हरेक क्षेत्रका विषयवस्तु स्थानीय पाठ्यक्रममा आउने भएकाले यसले विद्यार्थी मात्रै नभएर जैमिनीको बारेमा जान्न खोज्ने जो कोहिलाई पनि भरपर्दो सामग्री बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले पाठ्यक्रममा दोहोरो अर्थ लाग्ने भन्दा सरल र बुझ्ने भाषाको प्रयोग गर्न आग्रह गर्नुभयो । प्रत्येक व्यक्तिले सरल तरिकाले बुझ्ने भाषा प्रयोग भएमा मात्र पाठ्यक्रमको औचित्य रहने भन्दै उहाँले स्थानीय पाठ्यक्रमले पहिचान मेट्ने नभई पहिचान दिने खालको हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा पूर्व श्रोत व्यक्ति तथा सुन्तलाचौर माध्यामिक विद्यालय दमेकका प्रधानाध्यापक विष्णु प्रसाद सापकोटाले अन्यत्र पालिकामा पाठ्यक्रम लागु भैसक्दा पनि जैमिनीमा ठिलो भएको भन्दै यो गोष्ठीले पाठ्यक्रम निर्माणमा ठुलो मद्दत पुग्नेमा आफू आशावादी रहेको बताउनुभयो । शिक्षा क्षेत्रका व्यक्तित्वहरुको संलग्नतामा निर्माण हुने पाठ्यक्रमले जैमिनीको पहिचान बोक्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा जैमिनी नगरपालिकामा अवस्थित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी सहित सरोकारवालाहरुको सहभागीता रहेको छ । तर्जुमा गोष्टी मंगलबारसम्म चल्ने छ । गोष्टीमा बिभिन्न विज्ञहरुले सहजिकरण गर्नुहुने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार